घरदैलो बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार तिलोत्तमाको शंखरनगरमा रहेको ¥याडिशन होटेलमा सभा सम्पन्न भएको हो ।

सभामा तिलोत्तमा नगरपालिकाका आर्थिक शाखा प्रमुख कृष्णप्रसाद पाण्डेले नगरपालिकामा धेरै सहकारी सक्षमरुपमा चलिरहेको बताउँदै नगरपालिकाले उचित नियमनसमेत गरेको बताए । पाण्डेले कोभिड–१९, अन्तराष्ट्रिय युद्ध तथा आर्थिक सुस्तताका कारण सम्पूर्ण अर्थतन्त्र समस्यामा परेको समयमा पनि सहकारीहरुले सबल रुपमा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोसिस गरिरहेको भन्दै प्रशंसा गरे ।

सभामा संस्थाका अध्यक्ष बाबुराम गौतमले आर्थिक बर्ष २०७९÷ ८० को वार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम, लक्ष्य तथा बजेट प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पूँजी १ करोड १३ लाख २१ हजार दुई सय रुपैयाँ रहेको छ । संस्थाले २०८० असार मसान्तसम्ममा १ करोड ८७ लाख ३३ हजार ९६३ रुपैयाँ निक्षेप संकलन गरेको छ । उक्त आर्थिक बर्ष संस्थाको जम्मा आम्दानी आम्दानी ४५ लाख ५० हजार २ सय ८५ रुपैयाँ र खर्च ३५ लाख ६७ हजार ४ सय ९९ रुपैयाँ कायम भएको छ ।

संस्थाका अध्यक्ष गौतमले संस्थाको शेयरपूँजी आठ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको बताए । त्यसका लागि संस्थामा हाल रहेका ७ सय ९३ रहेको शेयर सदस्यको संख्यामा दुई सय थप्ने योजना रहेको उनको भनाई थियो । ‘संस्थामा आर्थिक चाप देखिएको छैन,’ कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले भने, ‘पटक पटकको कोभिड र आर्थिक क्षेत्रमा परेको संकटका कारणबाट धेरै संस्थाहरुमा निकै आर्थिक असरहरु पर्दै गएको अवस्थामा हाम्रो यो संस्था कुनै पनि अफ्ट्यारो स्थितीमा नपरेको व्यहोरा जानकारी गराउँछु ।’

सीमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका सचिव सन्तोष पौडेलले बताए ।
संस्थाकी व्यवस्थापक शान्ता गौतमको स्वागत रहेको कार्यक्रममा संस्थाका लेखा समिति संयोजक विजय गौतमले लेखासमितिको तर्फबाट र कोषाध्यक्ष कुलबहादुर थापाले कोषाध्यक्षको तर्फबाट प्रगति प्रतिवेदन पेश गरेका थिए ।
सभामा शेयर सदस्यका सन्ततिमध्ये एसईई परिक्षामा उत्कृष्ट जीपीए ल्याउनेहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै असल ऋणी र कर्जाको सही सदुपयोग गर्ने शेयरसदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

सभामा संस्थाले चालू आर्थिक वर्षमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै संस्थाका संचालक तथा कर्मचारीहरुलाई समय सापेक्षित तालिमको आयोजना गर्ने, शेयर सदस्यहरुलाई सीपमूलक तालिमको आयोजना गर्ने, घरदैलो कल्याणकारी कोषलाई वृद्धि गर्दै लैजाने जस्ता कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । आगामी दिनमा सहकारी अध्ययन अवलोकन, वृहत सहकारी शिक्षा र रक्तदान, स्वास्थ्य शिविर जस्ता सामाजिक कामहरु प्राथमिकतामा राखेर योजना बनाएको जानकारी गराइएको थियो ।

 
 
  
 

You may also like