लुम्बिनीमा लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

by समतल अनलाइन

देउखुरी । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा ऐक्यबद्धता” भन्ने मुल नारा सहित लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । शनिवार लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले राजधानी देउखुरीमा एक कार्यक्रमको अयोजना गरी अभियान सुरु गरिएको हो । सामाजिक विकास मन्त्री चन्द्रकेश(सिके) गुप्ताले लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा बोल्दै मन्त्री गुप्ताले लुम्बिनी प्रदेशलाई पुर्ण लैंगिक हिंसामुक्त प्रदेश घोषणा गर्ने महाअभियाननै शुरुवत गर्ने बताएका छन् । उनले हिंसामुक्त प्रदेश बनाउन त्यसै अनुसारको रणनीति तयार गरी अभियानको थालनी गर्ने बताए । मन्त्री गुप्ताले संविधान अनुसार नेपालमा कुनै पनि प्रकारको विभेद नरहेको भएपनि लैंगिक हिंसाको अवस्थामा भने सुधार आउन नसकेको बताए । ‘हामीले जे भनेका छौं, त्यो कार्यान्वयन भएको छैन, त्यसैले अब हामीले गर्ने कार्यक्रममा परिवर्तन ल्याउन जरूरी छ’ उनले भने । उनले सरकारी निकाय र संघसंस्थाले गर्ने कार्यक्रमको मोडालिटीमा समेत व्यापाक सुधार गर्नुपर्ने बताए ।

त्यस्तै,सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेशको प्रमुख सचिव राधिका अर्यालले लैंगिक हिंसाविरुद्ध सबै सरोकारवालाको आवाज एक हुनुपर्ने बताइन । उनले लैङ्गिक हिंसा समाजको ठुलो समस्याको रुपमा रहेको भन्दै सोँच परिर्वतनसगैं यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको भन्दै त्यसका लागि महिला संघ संस्थाको अहम् भूमिका रहनु पर्ने बताए । पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन पनि रहेकाले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्नेमा उनले जोड दिए ।

अभियान शुभारम्भ समारोहमा लुम्बिनी प्रदेश ,मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यत्रालयका प्रदेश सचिव सुमन घिमिरे , गृह मन्त्रालयका सचिव लालबाबु कवारी ,लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्र.व.उ. कृष्ण बहादुर पल्ली मगर, लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मि योगी लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिती रहेको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र लुम्बिनी प्रदेशका नीति , कार्यक्रम र बजेटमा यसको सम्बोधनका बारेमा सामाजिक विकास मन्त्रालयको सामाजिक महाशाखा प्रमुख शारदा बस्यालले जानकारी गराईन् । मन्त्रालयका सचिव थानेश्वर घिमिरेको अध्यक्षता रहेको कर्याक्रमको सञ्चालन मन्त्रालयका कानून अधिकृत धु्रव भण्डारीले गरेका थिए ।

 
 
  
 

You may also like