जुनोटिक रोग न्यूनीकरणसम्बन्धी सरोकारवालासँग छलफल

by समतल अनलाइन

बुटवल । एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि जुनोटिक रोग न्यूनीकरणसम्बन्धी सरोकारवालासँग छलफल कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । बिहीबार कृषि तथा पशुपन्क्षी पवकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग एकाइ बुटवलको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजान बुटवल कार्यालयका अनुगमन तथा मूल्यांकन अधिकृत डा.शिवलाल भुसालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै मानिसहरु दिनप्रतिदिन जुनोटिक रोगको जोखिममा परिरहेको बताए । एक स्वास्थ्य जुनोटिक रोग सर्ने तरिका तथा न्यूनीकरणका उपायहरुबारे उनले जानकारी गराए । तीन सयभन्दा बढी जुनोटिक रोगहरु रहेको र ७० प्रतिशतभन्दा बढी रोग पशुपंक्षीबाट मानिसमा सर्ने खालको रहेकोले रोगथामका लागि उच्च सावधानी आवश्यक रहेको बताए । कृषि तथा पशुपंक्षी फार्ममा काम गर्ने कामदारहरुले जैविक सुरक्षामा ध्यान दिन डा. भुसालले सुझाव दिए । ‘कामदारले अनिवार्य रुपमा मास्क, पञ्जा, एप्रोन, बुट लगाउनुपर्छ । काम सकेपछि व्यत्तिगत सरसफाइलाई ध्यान दिनुपर्छ ।’ उनले भने । गाईभैँसीको गोठ, बाख्रा, कुखुरा तथा अन्य पशुपंक्षीको खोर एकै ठाउँमा बनाउँदा रोगको जोखिम बढ्ने डा.भुसालले बताए । गोठदेखि मलखादको दूरी कम हुँदा पशुमा विभिन्न संक्रमण देखापर्ने उनको भनाइ थियो ।

साथै उनले आफूले सिकेका कुरा व्यवाहारमा उतार्नको लागि सहभागीहरुलाई आग्रह गरे । आफूले जानेको, सिकेका कुरा एक अर्कोमा सिकाउनको लागि आग्रह गर्दै यसले गर्दा मानिसमा लाग्ने पशुपंक्षीबाट सर्ने जटिल रोगबाट समेत बच्न सकिने डा.भुसालले बताए ।
जिल्ला समन्वय प्रमुख उमाकान्त चापागाईंले बनेका नीति कार्यान्वयन हुन नसक्दा समस्या भएको बताए । वास्तविक किसानले भन्दा कागज मिलाएर अनुदान लिँदा दिनरात पसिना बगाउने किसान सधैं मर्कामा पर्ने गरेको बताए । यहीँ अवस्था रहने हो भने किसान विस्थापित भई पलायन हुनुपर्ने उनको भनाइ थियो । किसान र व्यवसायीहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल लाइभस्टक सेक्र इनोभेसन आयोजना विकेन्द्रीकृत सहयोग एकाइ बुटवलका प्रमुख डा. गान्धीराज उपाध्यायले किसानले समयमा नै जुनोटिक रोगको पहिचान, सर्ने माध्याम, निराकरणका उपायहरुको विषयमा जानकारी लिन सकेमा यसबाट जोगिन सकिने बताएका थिए । आयोजनाले कृषि तथा पशुपालनमा लागेका किसानहरुलाई सहयोग गर्दै आइरहेको उनको भनाइ थियो ।

त्यस्तै, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले किसानले धेरै उत्पादन गर्ने नाममा विभिन्न विषादी र भ्याक्सीनको बढ्दो प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए । बधशाला निर्माण भएर पनि सञ्चालनमा आउन नसक्दा उपभोक्ताले स्वच्छ मासु पाउन नसेकेको बताउँदै उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर तत्काल सञ्चालनमा ल्याउन आग्रह गरे । खाद्यान्न, तरकारी तथा मासु खरिद गर्दा उपभोक्ता चनाखो बन्न उनले सुझाव दिए । व्यवसायीले इमानदारिता देखाउनुपर्ने बताउँदै उनले बिरामी पशुपंक्षीको दुध तथा मासु बिक्री नगर्न आग्रह गरे ।

कार्यक्रममा डा.अरुण खनालले खाद्य सुरक्षामा ध्यान दिन सके जुनोटिक रोग न्यूनीकरण गर्न सकिने बताए । खाना तथा मासु भण्डारमा सचेत रोगबाट बच्न सकिने उनले बताए । रोगी तथा मरेका पशुपंक्षीको मासु, काँचो मासु तथा हल्का पोलेको मासु नखान उनले सुझाव दिए । साथै बिरामी पशुको दुध तथा निर्मलीकरण नगरिएको दुध तथा दुग्धजन्य पदार्थ सेवन नगर्न डा. खनालले जोड दिए । उपभोक्ता हित संरक्षण मञ्च तिलोत्तमाका अध्यक्ष तुलसीराम भण्डारीले पशुपंक्षीलाई सन्तुलित पोषणयुक्त भोजन दिनुपर्ने बताए । पशु निरोगी भए उत्पादन बढ्ने र किसानले राम्रो आम्दानी गर्न सक्ने उनले बताए । उत्पादन गुणस्तरीय भए विभिन्न रोगबाट बच्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी बिभिन्न कृषि सहकारी, कृषि तथा पशुपंक्षी फार्मका सञ्चालकसँगै प्रतिनिमूलक किसानहरुले आफ्ना समस्या तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा कार्यालयका लेखा अधिकृत हरिप्रसाद ज्ञवाली, नायव शुब्बा कृष्ण पन्थी, पशु स्वाथ्य प्राविधिक ठाकुर प्रसाद खड्का, इन्जीनियर धम्रेन्द्र कुमार यादव लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन डा.अरुण खनालले गरेका थिए ।

 
 
  
 

You may also like