आज कुकुर तिहार, मानिसको बफादार सहयोगी कुकुरको यस्ता छन् महत्व

by समतल अनलाइन

काठमाडौँ । तिहार पर्वको दोस्रो दिन आज (आइतबार) कुकुर तिहार मनाइँदैछ । हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाउने प्रचलन छ । कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन परेको छ । आज बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि छ । त्यसपछि औँसी तिथि सुरु हुन्छ ।

लक्ष्मीपूजा औँसीको साँझ गर्ने प्रचलन भएकाले आजै साँझ लक्ष्मीपूजा गर्नु उत्तम हुने समितिले जनाएको छ । आज कुकुरलाई पूजा गरी फूलको माला लगाएर मिठामिठा खानेकुरा खुवाउने गरिन्छ । कुकुर तिहारमा आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरलाई पनि माला र टीका लगाएर खान दिने गरिन्छ ।

सनातन धर्ममा घर पालुवा जनावर कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्ने धार्मिक विश्वास छ । मानिसको आज्ञाकारी र रक्षक जनावर मानिने कुकुरलाई भैरवको बहान समेत भनिन्छ ।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गर्ने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा हुन्छन्। सुँघ्नसक्ने उच्च क्षमता पनि कुकुरमा उच्च छ । कुकुरको यही क्षमताको कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुरको प्रयोग गर्ने गरेका छन् । अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुर प्रयोग हुँदै आएको छ ।

प्राचीन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जनावर कुकुरलाई हिन्दू धर्ममा आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ । मानव सभ्यताको सुरुवातदेखि नै कुकुरले हरेक समयमा मानिसलाई सहयोग गर्दै आएको छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ । कुकुर थोरै खाएर पनि सन्तुष्ट हुने प्राणी हो । पशु पालक किसानले गोठहरुमा पशु बस्तुको गोठालाको रुपमा पनि कुकुरलाई प्रयोग गर्दै आएका छन् । कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्व नै थाहा पाउँछ भन्ने मान्यता छ ।

 
 
  
 

You may also like