ओमानलाई हराएर समूह विजेता बन्ने लक्ष्यमा नेपाल

by समतल अनलाइन

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत आज (बिहीबार) नेपाल र ओमान भिड्दै छन् । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए । टी–२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ। नेपालले ओमानसँग २०१९ मा चार देश सम्मिलित सिरिज हारेको थियो । नेपाल ६४ रनमा अल आउट हुँदै ६ विकेटले खेल गुमाएको थियो ।

नेपालले २०२२ मा ओमानसँग तीन खेल खेलेको थियो । तीनै खेलमा नेपालले ओमानलाई सहजै हराएको थियो । घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख राम्रो लयमा छन् । सोमपाल कामी, करण केसी र गुलशन झाबाट नेपालले राम्रो अलराउण्ड प्रदर्शनको अपेक्षा छ । विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् ।

आजै हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । आज नै युएई र हंङकङ तथा बहराइन र कुवेत पनि आमने सामने हुनेछन् । यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

 
 
  
 

You may also like