लगातार दुई जितपछि नेपाल विश्वकप छनौटको सेमिफाइनलमा

by समतल अनलाइन

काठमाडौँ । नेपाल टी-२० विश्वकप छनौटको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गत मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो । मलेसियाले दिएको १६६ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कुशल मल्लले सर्बाधिक ६५ रन बनाएका थिए । मल्लले ३४ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाएर आउट भएका थिए । त्यस्तै कुशल भुर्तेलले ४३, आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २, सन्दीप जोराले अविजित १८ र विवेक यादवले अविजित २ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउदै १६५ रन बनाएको थियो ।

मलेसियाका लागि सायद अजिजले सर्बाधिक ६८ रन बनाएका थिए भने जुबैद जुलकिफ्लेले २४, शर्भिन मुनियांडीले १३ रन, विजय उन्नेले १३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिएका थिए । अविनाशले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए । त्यस्तै नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।

यो जितपछि नेपालको २ खेलमा ४ अंक भएको छ भने समुह ए बाट सेमिफाइनल यात्रा सुनिश्चित गरको छ । नेपालसंगै समुह ए बाट ओमान पनि सेमिफाइनलमा पुगेको छ । २-२ खेलमा हार बेहोरेका सिंगापुर र मलेसिया भने सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । अब समुह चरणको अन्तिम खेलमा नेपाल र ओमान तथा सिंगापुर र मलेसिया खेल्ने तालिका रहेको छ ।

 
 
  
 

You may also like