इजरायलबाट चार नेपालीको शव आज बिहान ९ बजे विमानस्थल ल्याइ पुर्‍याइँदै

by समतल अनलाइन

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव आज (आइतबार) नेपाल ल्याइँदैछ ।

शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने जनाइएको छ । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तेलअभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ । नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

हमासको आक्रमणमा मारिएका अन्य ६ जना नेपालीको शव परीक्षणमा थप समय लाग्ने दूतावासले जनाएको छ । केही शवको पहिचान गर्न डीएनए परीक्षण गर्नुपर्ने दूतावासले जनाएको छ ।

युद्ध थप लम्बिने भएकाले १४० नेपालीहरुले नेपाली फर्कने इच्छासहित फर्म बुझाएकामध्ये पछिल्लो समय भने जम्मा ७ जनामात्रै नेपाल नै फर्कन चाहेको दुतावासले जनाएको छ । दुतावासका अनुसार ती नेपालीहरुलाई भने केही दिनमै नियमित विमानबाटै नेपाल फर्काउने तयारी गरिएको छ ।

 
 
  
 

You may also like