बुटवलको बिकासमा यातायात क्षेत्रको भूमिका महत्वपुर्ण रहेको जनप्रतिनिधी र समाजसेवीहरुको भनाई

by समतल अनलाइन

बुटवल । ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको बुटवललाई पुर्णरुपले चलायमान बनाउन यातायात क्षेत्रको भुमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पश्चिम नेपाल बस ब्यबसायी प्रालिले आयोजना गरेको बधाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले बुटवलको सामरिक महत्वलाई समेत मध्येनजर गरेर बजार गुल्जार बनाउन एकिकृत योजना आवश्यक रहेको बताएका छन ।

सहभागिहरुले बुटवल आसपासमा रहेका पर्यटकिय स्थलहरुलाई जोड्ने गरि यहाका ब्यवसायिक संस्थाहरु समन्वय र सहकार्यका योजना बनाउनुपर्ने कुरामा उनिहरुले सुझाव दिएका छन् । नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायात क्षेत्रबाट योगदान दिदै आएको पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आफ्नो सेवा थप प्रभावकारी र गुणस्तरिय बनाउनु पर्नेमा समेत सहभागि बक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नेपालकै सर्वाङ्गिण बिकासमा यातायात ब्यवसायीको महत्वपुर्ण योगदान रहेको चर्चा गर्दै यातायात ब्यवसाय विकासको पर्यावबाची भएको दावी गरेका छन् । बुटवलको विकाससंग संघसंस्थाहरुको योगदानबारे प्रकाश पार्दै फेरी पनि एकिकृत विकासको योजनासहित अघि बढ्न जरुरी रहेको मेयर पाण्डेले बताए । बुटवलको बसपार्कलाई नमुना बसपार्क बनाउने लक्ष्यसहित बहुतले पार्किङ्ग, कोसेली घर, क्यान्टिन निर्माण, शौचालयको ब्यबस्था लगायत निर्माणमा उपमहानगरपालीका अघि बढेको जानकारी समेत गराए ।

कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सडकको दुरावस्थाकै कारण यातायात ब्यवसायीहरु चरम पिडामा रहेको भन्दै आम उपभोक्ताको हितको पक्षलाई मध्येनजर गरि यथासक्य गुणस्तरिय सेवा दिदै आएको बताए । चाडपर्वको अवसरमा काठमाडौं जाने प्रत्येक यातायात ब्यवसायीलाई १० हजार रुपैया दिएर सेवालाई निरन्तरता दिदै आएको उल्लेख गर्दै अध्यक्ष खरेलले देखिएका सबैजसो कमजोरी आंैल्याउदै आलोचनात्मक समाचार निरन्तर दिन पत्रकारहरुलाई आग्रह गरेका छन् । सुरक्षित तरिकाले यात्रुहरुलाई गन्तव्यसम्म पुराउनु नै आफुहरुको कर्तब्य रहेको स्मरण गर्दै यात्रुहरुले शकुशल रुपमा दशैं मनाए मात्र आफुहरु आर्शिवादको योग्य हुने जिकिर समेत गरे ।

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले दुर्घटनाका कारण खोजी गरि त्यसलाई रोक्ने अभियान चलाएको बताए । आँखा परिक्षण, मेकानिकल जाँच कार्यलाई जोड दिएको उनले बताउदै सडक जाचभन्दा पनि सुरक्षामा जोड दिएको बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले आआफ्नो जिम्मेवारीपुर्वक कर्तब्य पुरा गरे दुर्घटना कम हुने र यात्रा सुरक्षित हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुषालले ब्यवसायिक संघसंस्थाहरुबिच भाईचारा र सहकार्य गर्ने उद्देश्यले प्रालिले बिभिन्न समयमा कार्यक्रम गर्दै आएको चर्चा गरेका थिए ।

 
 
  
 

You may also like