त्रिदेशीय श्रृंखला : नेपाल आज यूएईसँग खेल्दै

by समतल अनलाइन

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखला आज (बुधबार) बाट सुरु हुँदैछ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् ।

श्रृंखलाको पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग खेल्ने छ । २ गते (भोलि) र ४ गते हङकङसँग खेल्ने छ । नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङ भने कात्तिक ५ र ८ मा खेल्ने छन् । श्रृंखलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृंखलाको फाइनल कात्तिक १० गते हुनेछ । प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो श्रृंखला आयोजना गरेको हो । यता यो श्रृंखलामा सन्दीप लामिछाने नखेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण श्रृंखलाबाट नाम फिर्ता लिएको बताएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछाने टिममा नहुँदा असर पर्ने बताएका छन् । घरेलु मैदानमा बुधबारदेखि सुरु हुने त्रिदेशीय श्रृंखलाअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले सन्दीप नहुँदा टिममा असर पर्ने भए पनि टिम तयार रहेको बताएका छन् । श्रृंखलाअघि आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल क्रिकेट संघ (क्यान) ले ट्रफी समेत सार्वजनिक गरिसकेको छ ।

#त्रिदेशीय श्रृंखला

 
 
  
 

You may also like