बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण

by समतल अनलाइन

काठमाडौं । शुक्रबार बेइजिङस्थित इजराइली दूतावासका एक कर्मचारीमाथि आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ ।

‘आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ’, दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।’

गत शनिबार आश्चर्यजनक हमलामा हमासका बन्दुकधारीहरूले इजराइलमा एक हजार दुई सयभन्दा बढीको हत्या र करिब एक सय ५० जनालाई बन्धक बनाएपछि दूतावासका कर्मचारीमाथि आक्रमणको घटना भएको छ । इजराइलले बदलास्वरूप गाजापट्टीमा हमासका लक्ष्यहरूमा हवाई आक्रमणसँगै तोप वर्षाएर एक हजार तीन सय ५० भन्दा बढीलाई मारेको छ ।
हमासले इजराइली र यहुदीमाथि हमला गर्नका लागि विश्वभरका आफ्ना समर्थकहरूसँग शुक्रबार ‘क्रोध दिवस’ मनाउन आह्वान गरेको इजराइली विदेश मन्त्रालयले वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा चेतावनी दिएको छ । ‘विभिन्न देशमा विरोधका घटनाहरू हिंसात्मक बन्न सक्छन् भन्ने अनुमान गर्नु उचित छ’, विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार अपराह्न उत्तरपूर्वी बेइजिङको एक कूटनीतिक छिमेकमा रहेको इजराइली दूतावास सामान्यरूपमा सञ्चालन भएको देखिएको एएफपीका एक पत्रकारले बताए । सुरक्षाकर्मीहरूले उक्त क्षेत्र नखिच्न एएफपीलाई आग्रह गरेका थिए । बाहिरबाट त्यहाँ कुने निगरानी भइरहेको देखिएको थिएन । उक्त घटनाबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

 
 
  
 

You may also like