बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

by समतल अनलाइन

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल भएको हो।

बुटवलका केही व्यवसायीले टेण्डर प्रक्रियामा सहभागी नभई फरक धारणा व्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवाला बोलाएर छलफल गरेको हो।

छलफलमा सहभागी सरोकारवालाहरुले बधशालालाई छिटो सञ्चालन गरी स्वच्छ मासु उपभोग गर्न पाउने उपभोक्ताको अधिकार सुरक्षित गर्न माग गरेका छन्।

कार्यक्रममा सहभागीहरुले बुटवलमा बधशाला सञ्चालनमा कसैले पनि अवरोध गर्न नहुने र व्यवसायी समेत सहभागी हुनुपर्ने बताएका थिए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बधशाला कानुनी प्रक्रियाअनुसार सञ्चालनको चरणमा रहेकाले सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो। उहाँले बधशाला सञ्चालनका लागि कसैले अवरोध गर्ने र बुटवलबासीको स्वच्छ र स्वस्थ मासु उपभोग गर्न पाउने अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताउनुभयो।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले बधशाला सञ्चालनका लागि मासु व्यवसायीले सहकार्य गरी उपभोक्ताको पक्षमा निर्णय लिन आग्रह गर्नुभयो। उहाँले मासु व्यवसायीले व्यवसाय गर्ने भएकाले मनपरी रुपमा व्यवसाय सञ्चालनको पक्षमा उभिन नहुने बताउनुभयो।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका मासु पसलहरुले स्वच्छ मासु बिक्री गर्नका लागि बधशाला सञ्चालनमा ल्याइएकाले कसैले पनि यसमा असहयोग र अवरोध गर्न नहुने बताउनुभयो।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बधशाला सञ्चालनले बुटवलको गरिमा बढ्ने र यसले उपभोक्ताका साथै व्यवसायीलाई समेत लाभ हुने बताउनुभयो।

कार्यक्रममा मुक्तिनाथ लाइभस्टक लिमिटेडका प्रतिनिधि सन्तोष अधिकारीले बधशाला सञ्चालनमा मासु व्यवसायी र किसानहरुलाई सँगसँगै लिएर अगाडि बढ्ने बताउनुभयो। मासु व्यवसायी विशाल थापाले बधशाला सञ्चालनमा मासु व्यवसायी र किसानलाइ बाहिर राख्न नहुने बताउनुभयो।

कार्यक्रममा पशु क्वारेन्टाइन भैरहवाका डा भक्त निउरे, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीलगायतले बोल्दै बुटवलको पशु बधशाला सञ्चालनले यस क्षेत्रकै मासु व्यवसायमा स्तरवृद्धि हुने र यसले देशभरमै राम्रो सन्देश जाने बताउनुभयो।

बुटवलको आधुनिक पशु बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच भदौ ३१ गते सम्झौता भएको थियो।

सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमै बधशाला सञ्चालनमा ल्याउनेछ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भएपनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुन: टेण्डर आह्वान गरेको थियो।

मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ। पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको छ।

सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यवसायिक रुपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही गर्ने सम्झौतामा उल्लेख छ। बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणिकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन्।

बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन २०७९ पारित भइसकेको छ। ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ ।

झन्डै २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ।

यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको छ।

 
 
  
 

You may also like