इजरायलका नेपाली लिन आज राति नेपाल एयरलाइन्सको जहाज जाँदै

by समतल अनलाइन

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बुधबार) बिहान पर्यटनमन्त्री सुदन किराती र नागरिक उड्ययन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुख इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै नेपाल एयरलाइन्सको विमान राति ११ बजे इजरायल पठाउने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर नेपाल एयरको जहाज इजरायल जाने भएको हो । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ । सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ । नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको छ ।

द्वन्द्वग्रस्त मुलुक जानुअघि विमानको सबै इन्सुरेन्स गर्नुपर्ने भएकोले युएइबाट सो कार्य सम्पन्न गर्ने र इजरायलको विमानस्थलमा ल्याण्डिङ परमिसन (जहाज अवतरण अनुमति) को प्रक्रिया पनि बुधबार नै लिइने छ । त्यसपछि जहाज इजरायल उड्ने छ । शनिबार (असोज २०) मा प्यालेष्टिनी विद्रोही समूह हमास इजरायलका विभिन्न स्थानमा रकेट सहित आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए । यस्तै, विद्रोही समूहको आक्रमणबाट एक नेपाली वेपत्ता छन् ।

इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए । जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अभिभमा राखेको छ । उद्धारमा परेकाहरुले अझै युद्ध जारी रहेकोले नेपाल फर्काउन सहयोग मागिरहेका छन् । हमास विरुद्ध इजरायलले गाजा क्षेत्रमा कारवाही तीव्र पारेको छ । युद्ध चर्कने खतरा बढेपछि सरकारले इजरायलमा अध्ययन र कामका पुगेका नेपालीलाई नेपाल फर्काउन जहाज पठाउन लागेको हो ।

 
 
  
 

You may also like