इजरायली समकक्षीलाई परराष्ट्रमन्त्रीको फोन : नेपालीको शव ल्याउन सहजीकरणकाे आग्रह

by समतल अनलाइन

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र इजरायलका विदेशमन्त्री एली कोहेनबीच टेलिफोन संवाद भएको छ ।
आज (मंगलबार) दिउँसो परराष्ट्रमन्त्री साउदले समकक्षी कोहेनसँग टेलिफोन संवाद हमासको आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरे ।

‘महामहिम ज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जतिसक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाइले पनि घर परिवारका सदस्यमा झन् पीडा थप्ने छ,’ उनले भने, ‘तसर्थ शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु । त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्नेछ ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे । उनले आक्रमण पछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि अनुरोध गरे । मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानपिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।

‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ । यद्यपि, उहाँहरूमध्ये धेरै जना बंकरमा बसिरहनु भएको जानकारी प्राप्त भएको छ,’ संवादका क्रममा उनले भने, ‘उहाँहरू खाना र पानी जस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनु भएको छ । यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ ।’

बंकरमा बसेका केही नागरिकहरूले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी दिए । मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए ।

‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरूको विवरण संकलन गरिरहेका छौँ । पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्नेछ,’ उनले भने । इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरूको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्यलाभको कामना गरे । उनले इजरायल अहिले कठिन मोडमा रहेको पनि बताए । मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिएका छन् ।

 
 
  
 

You may also like