इजरायल आक्रमणमा नौं नेपाली घाइते, दुईको अवस्था गम्भीर

by समतल अनलाइन

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले रकेट आक्रमण गर्दा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले नौं जना नेपाली घाइते भएको जनाइको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । सो स्थानमा १४ जना नेपाली रहेकोमा ९ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्रले जनाएको छ ।

परराष्ट्रले आक्रमण क्षेत्रमा रहेका नेपाली र घाइते नेपालीको उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ । आज बिहानै हमासले इजरायलका विभिन्न शहरमा ५ हजार रकेट प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कम्तिमा ४० जना इजरेली नागरिकको मृत्यु भएको समेत बताइएको छ । ५७० घाइते समेत भएका छन् । यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाले दाबी गरेको छ ।

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री वेन्जामिन न्यतन्याहुले युद्धको घोषणा गरेका छन् । इजरेली लडाकु विमानले हमासको नियन्त्रणमा रहेको गाजामा हवाइ आक्रमण गरेको जनाइएको छ । नेपाल सरकारले इजरायलमा भएको आक्रमणको कडा शब्दमा निन्दा समेत गरेको छ । हमासले जिम्मा लिएको सो आक्रमणलाई नेपालले आतंकवादी आक्रमण भनेको छ ।
‘आफ्नो ख्याल राख्नु, सुरक्षा निकायको निर्देशन पालना गर्नु’
इजरायलमा रहेको नेपाली राजदूतावासले आफ्नो सुरक्षाको ख्याल राख्ने र स्थानीय निकायको निर्देशन पालना गर्न नेपाली समुदायमा आग्रह गरेको छ ।

इजरायलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा अहिले द्वन्द्व चलिरहेको भन्दै राजदूतावासले यस्तो आग्रह गरेको हो । ’यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन नेपाली समुदायमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

अप्ठ्यारोमा परेका नेपालीको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको राजदूतावासले जनाएको छ । अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै राजदूतावासले यसको नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा केही सामग्री साझा नगर्न पनि आग्रह गरेको छ ।

इजरायलमा रहेका नेपालीले राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४–५५८२०७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

 
 
  
 

You may also like