मेची–महाकाली समाजवादी जागरण अभियान भव्य बनाइँदै, भैरहवा र बुटवलमा जनसभा गरिने

by समतल अनलाइन

बुटवल ।‘रोजगारी, समृद्धि र सुशासन, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)’ भन्ने संकल्पका साथ शुरु भएको ‘मेची–महाकाली समाजवादी जागरण अभियान’ लाई रुपन्देहीमा भव्य बनाउने तयारी गरिएको छ ।

१० वर्षमा बेराजगार उन्मूलन गर्ने अठोट सहित विभिन्न कार्यक्रम सहित मेचीमहाकाली जागरण अभियानमा निस्केको टोलीलाई नेकपा एकीकृत समाजवादी रुपन्देहीले भव्य बनाउने गरी तयारी गरेको हो । असोज १४ गते मेचीबाट शुरु भएको अभियानलाई असोज २० गते साँझ रुपन्देही आइपुग्ने छ । अभियानको टोलीलाई भैरहवामा भव्य स्वागत गरिने छ । २१ गते भैरहवा र बुटवलमा राखिएको छ ।

नेकपा एकीकृत समाजवादी रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यहि असोज २१ गते भैरहवा र बुटवलमा अन्तरक्रिया तथा जनसभा गर्ने गर्ने कार्यबाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । उनका अनुसार असोज २१ गते विहान ८ बजे भैरहवास्थित सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा अन्तरक्रिया आयोजना गरिएको छ । यस्तै, सोही दिन विहान ११ बजे भैरहवास्थित मिलनचोकमा जनसभा गरिनेछ । यस्तै असोज २१ गते दिउँसो ३ बजे बुटवल ट्राफिकचौकमा जनसभाको आयोजना गरिएको अध्यक्ष यादवले बताए ।

‘हामीले उसैदिन दिउँसो मणिग्राम र बुटवलको मिलनचोकमा मा पनि सभा गर्दैछौं’, यादवले भने, ‘यसले पार्टीले अभि बढाइरहेको एजेण्डा, नीति, अबका कार्यक्रमबारे आम नागरिकलाई जानकारी हुनेछ ।’ उनका अनुसार २२ गते विहान ८ बजे बुटवल सिद्धार्थ कटेजमा अन्तक्रिया कार्यक्रम राखिएको छ । अन्तरक्रिया तथा सभालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहित केन्द्रीय नेतृत्वले सम्बोधन गर्नेछन्।

‘अन्तरक्रिया कार्यक्रममा मुलुक बनाउने मुद्दाका बारेमा छलफल र सुझाव संकलन गरिनेछ जनाइएको छ । यादवले ‘युवा शक्तिको पलायनको समस्या अन्त्य गरी स्वदेशमै रोजगारी, राष्ट्रिय पूँजीको विकास गरी राष्ट्रिय उद्योग स्थापनाको वातावरण, कृषि उत्पदन विक्रिको ग्यारेन्टी, साँस्कृतिक अतिक्रमणको प्रतिरोध, निःशुल्क र गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, राष्ट्रिय एकताको प्रवद्र्धन र शान्ति सुरक्षाको ग्यारेन्टी, विचारको पुनर्गठन र समाजवादी धारको वैचारिक पार्टी निर्माणको एजेन्डा सहित समाजवादी जागरण अभियान थालिएको बताए ।

उनले यस अभियानमा रुपन्देही सहित देशभरका सम्पूर्ण श्रमजीवि, मजदुर, किसान, उद्योगी व्यवसायी, बुद्धिजिवी, युवा विद्यार्थी, पेशाकर्मी, पत्रकार लगायत प्रशासन र समाजका सबैलाई सहयोगका लागि अपिल गरे ।

उनले भने, ‘व्यवस्था फेरियो तर किन अवस्था फेरिएन ?’ भन्ने प्रश्नको जवाफ खोज्दै, हाम्रा सन्ततीहरुको मर्यादित तथा सम्मानपूर्ण जीवन बाँच्ने अवस्थाका लागि १० बर्षमा बेरोजगारी उन्मूलन गर्ने हाम्रो कार्यक्रममा सुझाव दिन समेत अनुरोध गर्दछौं ।’ उनले पत्रकारहरुलाई यी तमाम जनसरोकारका मुद्दामा बहस र छलफलको बिषय बनाउन समेत अनुरोध गरे ।

कृषिबाटै बेरोजगारी अन्त्य गर्न सकिन्छ : सचिव पराजुली

पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज हरिप्रसाद पराजुलीले मूलूकबाट युवा जनशक्ति पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि बेरोजगार उन्मूलन गर्नुपर्ने बताए । एंव पूर्व कृषि मन्त्री समेत रहेका उनले कृषिबाटै बेरोजगार उन्मूलन गर्न सकिने बताउँदै अबको १० बर्षमा बेरोजगार उन्मूलन गरी रोजगारी, सुशासन र समृद्धि ल्याउन सकिने बताए ।

उनले मुलुकमा देखिएको आर्थिक संकट, युवाहरुमा देखिएको निराशा, बेरोजगारी समस्या, आधारभूत स्वास्थ्य सेवा, २१ औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव, लैंगिक हिंसा जस्ता कुरीती अन्त्य हुन नसक्नु, असहिष्णु र घृणाको राजनीतिले समृद्धि र समाजवादको यात्रालाई अल्मलाइरहेको अवस्थामा समाजवादी जागरण अभियानले नयाँ तरंग ल्याउने विश्वास व्यक्त गरे ।

‘जनताले लोकतान्त्रिक गणतान्त्रिक अधिकारहरु प्राप्त गरेका छन् । नेपालको संविधान २०७२ ले नेपाली जनताको आकंक्षा संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत समृद्धि र समाजवाद भनेको छ’, उनले भने, ‘तर, पूरा हुन सकेको छैन । यस अभियानले मुलुकलाई त्यसतर्फ दिशानिर्देश गर्नेछ ।’

उनले विगतमा राजनीतिक पार्टीका सिद्धान्त र कार्यक्रम ठोस र स्पष्ट नहुँदा सत्ता प्राप्तिका तत्तकालीन मुद्दामा केन्द्रीत हुने, राज्यका निकायहरुमा भागबन्डा गर्ने, पार्टीहरु फुट्ने र जुट्ने तथा संसद विघटन गर्नेसम्मका घटनाक्रमहरु देखिएको जनाउँदै अब यस्ता समस्या हटाउन समाजवादीले पहल गर्ने र मुलुकको विकास र समृद्धिलाई प्रमुख एजेण्डा बनाउँदै कार्यान्वयनमा लगिने जनाए ।

‘यस अभियानले अहिले देशमा देखिएको सामाजिक, राजनीतिक, आर्थिक अन्योल र अस्थिरतालाई चिर्न मद्दत गर्नेछ’, उनले भने, ‘यसका साथै समाजवादी रुपान्तरणका लागि ठोस कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न र संविधान रक्षा गर्न योगदान पुग्ने छ ।’

उनले पार्टी निर्माणको छोटो अवधिमा चु्नौतीपूर्ण तर अर्थपूर्णरुपमा पार्टीलाई जनताका माझमा स्थापित गरेको जनाए । ‘यतिखेर हामी सैद्धातिक र सांगठिनक रुपमा संस्थागत हुँदै महाधिवेशन गर्न जाँदैछौं ।

यसै शिलशिलामा आम नागरिकका जनजीविकाको सवाल, समाजमा देखा परेको तत्तकालिन समस्याहरुको दीर्घकालिन समाधानको प्रश्नहरुको जवाफ सहित ‘रोजगारी, समृद्धि र सुशासन, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)’ भन्ने संकल्प गरी ‘मेचीमहाकाली समाजवादी जागरण अभियान’ शुरु गरेका हौं’, उनले भने । असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २९ गते महाकाली पुगेर समापन हुनेछ ।

अभियान शुरु भएको छैटौं दिनसम्म आइपुग्दा पार्टीप्रती आम मानिसहरुको आशा र भरोसा जागेको स्पष्ट देखिएको नेताहरुले दावी गरे । अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, काँग्रेस, माओवादीलगायत पार्टीका साढे तीन हजार नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएको उनीहरुले दावी गरे । समाजवादी पार्टीले रुपन्देहीमा जागरण अभियान अन्तर्गत शनिबार धकधईबाट अभियालाई स्वागत गर्ने कार्यक्रम रहेको पार्टी उपसचिव टंक पोखरेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, प्रदेश कमिटि सदस्य हिराध्वज शाह, अर्का सदस्य कमल प्रसाद भण्डारी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like