बिहीबार बिहानदेखि मौसममा सुधार हुने

by समतल अनलाइन

काठमाडौं । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी परेको थियो र रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ ।

‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद् रोजन लामिछानेले भने, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’

भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले लुम्बिनी प्रदेशदेखि पूर्वतर्फ तीन दिनयता वर्षा भइरहेको छ । गत २४ घण्टामा सबैभन्दा बढी वर्षा लुम्बिनी, गण्डकी र बागमती प्रदेशका जिल्लाहरुमा रेकर्ड भएको छ ।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टुबर २ तारिख भए पनि अहिलेको प्रणालीको प्रभावले बहिर्गमनमा ढिलाइ भएको छ । तर केही दिनभित्रै वर्षा गराउने अहिलेको प्रणाली नेपालबाट बाहिरिने र त्यसपछि हिउँद सुरु हुने मौसमविदले बताएका छन् । यस वर्षको मनुसन नेपालमा सरदर मितिभन्दा एक दिन ढिला गरी जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो ।

पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमी नेपालबाट पूर्वतर्फ सर्दै बाहिरिन्छ । पश्चिम नेपालमा यस वर्षको मनसुन बहिर्गमनको संकेत देखिइसकेको मौसमविद लामिछानेको भनाइ छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिएपछि र पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गरेपछि मनसुन बहिर्गमनको घोषणा गरिन्छ ।

 

 
 
  
 

You may also like