टक्करको खेलमा भारतसँग नेपाल पराजित

by समतल अनलाइन

काठमाडौं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालको राष्ट्रिय क्रिकेट टिम भारतसँग पराजित भएको छ । सोमबार भएको क्वार्टरफाइनलको खेलमा नेपालको क्रिकेट टिम भारतसँग २३ रनले पराजित भएको हो ।

भारतसँग पराजित हुँदै नेपालको क्रिकेट टिम प्रतियोगिताबाट बाहिरीएको छ भने भारतीय टिम सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन बनायो ।

ओपनर कुशल भुर्तेलले २८ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । कुशल मल्ल र सन्दीप जोराले समान २९ रन बनाएको नेपालको इनिङ्समा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएका थिए । सोमपाल कामी ७ र गुल्सन झा ६ रनमा पोविलियन फर्किएका थिए । सन्दीप लामिछाने ५ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे ।

भारतका अवि बिश्रोई र अषेश खानले समान ३, अर्शदीप सिंहले २ तथा साइ किशोरले १ विकेट हात पारेका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय रन बनाएको थियो । भारतका अन्य ब्याट्सम्यान खासै चल्न नसकेपछि यशस्वी जयसवालले उत्कृष्ट प्रर्दशन गरे । भारतका लागि जयसवालले शतकीय इनिङ्स खेले । जयसवालले ४८ बलमा नेपालविरुद्ध शतक प्रहार गरेका थिए । जसमा ८ चौका र ७ छक्का सामेल थियो ।

कप्तान ऋतुराज गायकव २५ रनमा आउट भएको खेलमा तिलक वर्मा २ र जितेश शर्मा ५ रनमा पोविलियन फर्किएका थिए । रिंकु सिंहले विस्फोटक ब्याटिङ गर्दै ३७ र शिवम दुवेले २५ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट हात पारे । भारतले युवा क्रिकेट टिमलाई एसियन गेम्समा मौका दिएको थियो । नियमित टिम वान डे विश्वकप क्रिकेटको तयारीमा रहदाँ युवा टिम एसियन गेम्स खेल्न चीन आएको हो ।

नेपाल समूह चरण पार गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । नेपालले समूह चरणमा भियतनाम र माल्दिभ्सलाई हराएको थियो ।

भारतले सिधै प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

योसँगै एसियन गेम्समा क्रिकेटबाट नेपालको सम्भावना चुनौती सकिएको छ । प्रतियोगिताले टी ट्वान्टी विश्वकप छनोटमा नेपाललाई सहयोग पुग्ने विश्वास लिईएको छ ।

 
 
  
 

You may also like