रौतहटका बम काण्डका आरोपित आलमलाई थुनामा राख्न आदेश

by समतल अनलाइन

रौतहट, २९ कात्तिक । रौतहटका बम काण्डका आरोपित तथा निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आलमविरुद्ध जारी मुद्दाको थुनछेक बहस सकिएपछि आज जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

मुद्दामा वादीको तर्फबाट १२ जना र प्रतिवादीको तर्फबाट २८ जना कानून व्यवसायीहरुले बहस गरेका थिए । ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थ सहित तीन वटा मुद्दामा निलम्वित सांसद पक्राउ परेका हुन् ।

यसअघि अलामको पक्षबाट पूर्वमहान्यायाधिवक्तासमेत रहेका रमण श्रेष्ठ, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता युगनाथ खनाल, शेरबहादुर केसी, अधिवक्ता सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी र कृष्ण घिमिरे भुषणलगायतका कानून व्यवसायीले बहस गरेका थिए ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएका पूर्वसांसद मोहम्मद अफ्ताव आलमलाई रौतहटमा नराखिने भएको छ । जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले सुरक्षाको दृष्टिकोणले रौतहटमा राख्न उपयुक्त नहुने भन्दै ‘सुरक्षित स्थानमा राख्न’ भन्ने आदेश दिएकाले रौतहट कारागारमा नराखिने भएको हो ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ । यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध ८०० पृष्ठको अभियोग पत्र दर्ता गरेको थियो ।

जसमा आलमले १२ वर्ष अघि २०६४ चैत २७ गते रौतहटको राजपुर कुरिया, फरहदवास्थित चुनावको समय घरमा बनाउँदै गरेका बम विष्फोट पछि बम पड्किँदा बमबाट घाइते त्रिलोकप्रताप सिंह र ओसी अख्तरसहित दर्जन बढी व्यक्तिलाई औषधि उपचार गराउन भनी गाउँ निकाल गरी जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ । सोही आरोपमा सांसद आलम सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए ।

चुनावमा प्रयोग गर्न भारतबाट भाडामा मान्छे ल्याएर काका शेख इन्द्रिसको गोठमा बम बनाउन लगाएको अवस्थामा विस्फोट भएको थियो । २७ चैत ०६४ मा बम पड्किएर केहीको मृत्यु भएको थियो भने विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेको आरोप छ । विपक्षीलाई तर्साएर चुनाव जित्न उनले बम विस्फोटको योजना बनाएका थिए ।

बम विस्फोटमा सरुअठा गाउँका २५ वर्षीय पिन्टु सिंह, राजपुर फरहदवाका ओसी अख्तर र अन्य तीन भारतीय घाइते भएकोमा घटनाको पोल खुल्ने डरले उनीहरूको हत्या गरेको प्रहरी दाबी छ । घटनालगत्तै मृतक पिन्टुका बुबा श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रुखसाना खातुनले सांसद आलम, उनका भाइ शेख मोहमद महताभ आलम, सोही ठाउँका शेख भदै, शेख मोमिन र हालको गरुडा नगरपालिकाअन्तर्गत जयनगरका शेख बलेरुलाई मुख्य आरोपी बनाएर जिल्ला हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा दर्ता गराएका थिए ।

त्यतिवेला घटनाका केही प्रत्यक्षदर्शीले समेत बम विस्फोटमा उनीहरू घाइते भएको र पछि इँटाभट्टाको आगोमा हालेर हत्या गरेको कागज गरिदिएका थिए । यसरी हत्या गरिएका ओसीका आमा रुखसाना खातुनको समेत पछि गोली हानेर हत्या भएको थियो ।

 
 
  
 

You may also like