एडीबीद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

by समतल अनलाइन

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रिकरण गर्न करिब १३ अर्ब रुपैयाँ अर्थात् १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । यो ऋण सहयोग रकम स्थानीयस्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि खर्च हुने एडीबीले जनाएको छ ।

सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि यो सहयोग महत्त्वपूर्ण मानिएको छ । ‘एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्नेछ’ एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले भने ।

एडीबीले नेपाललाई खर्च र ऋण व्यवस्थापन क्षेत्रमा सुधार गर्न सहयोग गर्दै आएको छ । कार्यक्रममा वित्तीय जोखिम र रणनीति प्रतिवेदनको स्वीकृति तथा त्यसको सञ्चालन, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन समावेश छ ।

 
 
  
 

You may also like