लुम्बिनीका मुख्यमन्त्रीलाई राउटेले मागे दसैँ खर्च

by समतल अनलाइन

लुम्बिनी । फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू यति बेला दसैँ खर्चको जोहोमा निस्किएका छन् । उनीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर दसैँ खर्चको जोहो गरिदिन आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई मुख्यमन्त्री कार्यालयमा भेटेर राउटे मुखियाले दसैँ खर्चको व्यवस्था गरिदिन आग्रह गरेका हुन् । राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीले चौधरीलाई भेटेर आफूहरूका समस्या सुनाएका छन् ।

राउटे शाहीले सरकारसँग दसैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई खर्चको व्यवस्था गर्न आग्रह गरे । ‘अब दसैँ आइसक्यो । हाम्रो जनताले दसैँमा बलि पनि दिनुपर्छ । खसी पनि खानुपर्छ । सरकारले पैसा दिनु पर्‍यो,’ शाहीको आग्रह थियो । उनका अनुसार ८६ घर परिवारलाई खसीका लागि सरकारले २ लाख दिनुपर्ने छ । उनले आफूहरू अहिले दैलेखमा बसिरहेको र दसैँ खर्चका लागि दाङ आएको बताए ।

मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले दसैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए । राउटेलाई खर्चकै कारण दसैँ मनाउन समस्या भएमा लुम्बिनी प्रदेश सरकारले पनि केही सहयोग गर्ने मुख्यमन्त्री चौधरीले बताए । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like