यी पौराणिक प्रेम कथा, जसलाई आज पनि उत्तिकै महत्त्वका साथ सुन्ने गरिन्छ

by समतल अनलाइन

हाम्रा धर्मग्रन्थहरूमा प्रेमका सुन्दर प्रसंगहरू भेटिन्छन् । तिनको तुलनामा अहिलेको प्रेम कस्तो होला, आफैं अनुमान गर्न सक्नुहुन्छ ।

विपरित लिंगीप्रति हुने प्रेम आधुनिक जमानाको यथार्थता मात्र होइन । पौराणिक कालदेखि नै प्रेमको प्रसंग चल्दै आइरहेका छन् । हिन्दू धर्मग्रन्थहरूमा प्रेमका धेरै प्रसंगहरू उल्लेख छन् । हामीले केही चर्चित प्रेमप्रसंगलाई यहाँ प्रस्तुत गरेका छौं ।

शाल्व र अम्बा
महाभारतमा राजकुमार शाल्व र काशीकी राजकुमारी अम्बाको प्रेम प्रसंग आउँछ । उनीहरूले प्रेमको कठिन परीक्षा दिनुपरेको थियो । । दुवैजना एकअर्काको प्रेममा डुबेर जीवनसाथी बन्ने बनाउने कल्पना गरिरहेका थिए ।

तर विवाहभन्दा केही अघि गंगापुत्र भीष्म उनीहरूको जीवनमा प्रवेश गरे । भीष्मले स्वयंबरकै बीचमै अम्बा र उनका बहिनीहरूको अपहरण गरे । शाल्वले भीष्मसँग युद्ध त गरे तर हारे अनि अम्बाले हस्तिनापुर जानुपरेको थियो । अम्बाले भीष्मलाई आफू शाल्वको प्रेममा परेको बताएपछि उनले अम्बालाई शाल्वकहाँ पठाए । तर शाल्वले अम्बालाई अपनाएनन् ।

अनि अम्बा फर्केर भीष्मकहाँ आइन् र विवाह गर्न भनिन् । तर भीष्मले विवाह नगर्ने प्रतिज्ञा गरेकाले अम्बालाई निराश बनाए । अम्बा रिसाएर आफू भीष्मको मृत्युको कारण बन्ने बताइन् । उनले भगवान् शिवको तपस्या गरिन् अनि अर्को जन्ममा शिखण्डी बनेर महाभारतको युद्धमा भीष्मको मृत्युको कारण बनिन् ।

दुष्यन्त र शकुन्तला

हस्तिनापुरका राजा दुष्यन्त शिकार खेल्दै कण्व ऋषिको आश्रम पुगे । राजाले ऋषिलाई पुकार्दा ऋषि आएनन् किनकि उनी तीर्थाटनमा गएका थिए । आश्रमबाट कण्वकी पालिता छोरी शकुन्तला बाहिर आइन् । शकुन्तलाको रूप र यौवन देखेर दुष्यन्त मुग्ध भए । शकुन्तला आफ्नी आमा अप्सरा मेनका जस्तै सुन्दर थिइन् ।

शकुन्तलाले पनि दुष्यन्तलाई देखेर मोहित हुँदै विवाह प्रस्ताव स्वीकार गरिन् । दुष्यन्त केही समयपछि हस्तिनापुर फर्के अनि उनले शकुन्तलालाई पछि आएर राजकीय सम्मानका साथ राज्य लैजाने भन्दै तत्कालका लागि राजऔंठी लगाइदिए । तर शकुन्तलाले दुष्यन्तको यादमा दुर्वासा ऋषि आएको थाहा नपाएपछि ऋषिले श्राप दिएर औंठी हराइन् अनि दुष्यन्तले पनि उनलाई बिर्सिए । पीडामा परेकी शकुन्तलाको श्रपामोक्ष भएपछि औंठी दुष्यन्तले भेटे र शकुन्तलालाई खोज्न थाले । कश्यप ऋषिको आश्रममा दुवै प्रेमीको पुनर्मिलन भयो ।

अनिरुद्ध र ऊषा

भगवान् श्रीकृष्णका नाति अनिरुद्ध र वाणासुरकी छोरी ऊषाको प्रेमकथा पजि गजबको छ । ऊषाले एक रात सपनामा अनिरुद्धलाई देखिन् र सपनामै हृदय सुम्पिन् । उनकी मायावी सखी चित्रलेखाले अनिरुद्धको तस्वीर बनाइन् र उनी श्रीकृष्णको नाति भएको पनि बताइन् ।

अनि मायाद्वारा नै सखीले अनिरुद्धलाई ऊषाको शयनकक्षमा लगिन् । भोलिपल्ट अनिरुद्धका आँखा खुलेपछि परमसुन्दरी ऊषालाई देखेर प्रेम गर्न थाले । वाणासुरले अनिरुद्ध आफ्नी छोरीको कोठामा रहेको थाहा पाएपछि रिसाएर बन्दी बनाए । यसपछि भगवान् श्रीकृष्ण र वाणासुरका तर्फबाट भगवान् शिवबीच युद्ध भयो । युद्धमा पराजित भएर वाणासुरले अनिरुद्धको विवाह ऊषासँग गराइदिए ।

 
 
  
 

You may also like