नेपाललाई जितका लागि थाइल्याण्डले दियो १०६ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत जारी सेमिफाइनल खेलमा नेपाललाई जितका लागि थाइल्याण्डले १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको हो । दोस्रो विकेटका लागि ओपनर नन्नपत कोन्चरोएनकाई र नटाङकन चनतमले ६८ रनको साझेदारी गरेका थिए ।

४५ बलमा २ चौका प्रहार गरेकी नटाङकन ३१ रन बनाउदा पूजा महतोको बलमा काजल श्रेष्ठको हातबाट क्याच आउट भइन् । नेपालले पहिलो विकेटका रुपमा ओपनर सुवानन खियाओटोलाई २ रनमा कविता कुवँरको बलमा कप्तान रुविना क्षत्रीको हातबाट क्याच आउट गराएको थियो । नन्नपत ५९ र चनिदा सुचिरुङ ११ रनमा नटआउट रहे। नन्नपतले ६३ बलमा चार चौका प्रहार गरिन् । नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिइन् । कविता जोसीले ३ ओभरमा १२ र इन्दु बर्माले २ ओभरमा १५ रन खर्चिए ।

रुविना क्षत्रीले ४ ओभरमा २१ रन दिदा पूजा महतोले ३ ओभरमा २० रन दिएर १ विकेट आफ्नो नाममा गरिन् । सीता राना मगर र खुसी डंगोलले समान २ ओभरमा १० रन दिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । यो खेलको विजेताले अर्को वर्ष हुने आईसीसी महिला ग्लोबल टी–२० छनोटमा स्थान बनाउनेछ ।

 
 
  
 

You may also like