नमस्ते एकेडेमीमा पुस्तक पठनको महत्व शीर्षकको नाटक प्रदर्शन र पुस्तक चर्चा

by समतल अनलाइन

बुटवल ।राष्ट्रिय पुस्तक दिवसको अवसरमा नमस्ते एकेडेमीमा पुस्तक परिचर्चा कार्यक्रमको उद्घाटन भएको छ । नमस्ते रिडर्स कलब र नमस्ते पुस्तकालयको संयुक्त कार्यक्रमको रूपमा रहेको परिचर्चा कार्यक्रम विद्यालयको रिडर्स कलबका विद्यार्थीहरुले पुस्तक पठनको महत्व शीर्षकको नाटक प्रदर्शनबाट गरेका थिए ।

कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरुले दर्शन, कला, अर्थशास्त्र, धर्म, संस्कृति, लौकिक र अलौकिक कथा, खेलकूद, आत्मवृतान्त, भाषा, पुराण, साहित्य लगायतका विषयमा त्रैमासिक रुपमा विशेष अध्ययन गरेका सयौँ पुस्तकको समीक्षा यो कार्यक्रममा हुनेछ । अहिलेको डिजिटल जमानामा पुस्तक पढ्ने बानी अति आवश्यक छ ।

सहानुभूतिको विकास गर्न, अनुभव आफैंमा लागू गर्न , तनावबाट आराम लिन पनि पुस्तक पढ्नु अत्यावश्यक छ । स–साना बालबालिकाले हप्ता हप्तामा नयाँ पुस्तक पढी त्यसको समीक्षा सुन्न पाउँदा आफू पनि पुस्तकालय विज्ञानको विद्यार्थी रहेको र मोफसलमा पहिलो पटक इलाइब्रेरी स्थापना गरेकी नमस्ते एकेडेमीकी चिफ लाइबे्ररियन सन्जु भण्डारी दङ्ग परेको बताउँछिन ।

प्यानल डिस्कसन र व्यक्तिगत चर्चाको रुपमा रहने पुस्तक चर्चा तीन दिनसम्म चल्नेछ । पुस्तकलाई आफ्नो घर र कक्षाकोठा जत्तिकै माया गर्ने पुस्तक पारखी १५० विद्यार्थी पुस्तक समीक्षा कार्यक्रममा सहभागी भएका छन् ।

जसले गर्दा भविष्यमा नयाँ अनुसन्धानकर्ता जन्मदै जाने विश्वास विद्यालयले गरेको छ । अन्तराष्ट्रिय मापदण्ड पालना गर्दे त्यसका चरणहरु पार गर्दै विद्यार्थीहरु यो पुस्तक चर्चामा सहभागीभएका छन् । विद्यार्थीमा पठन संस्कृतिको विकास गराउनुका साथै अन्तराष्ट्रिय रुपमै प्रतिस्पर्धी बनाउनु यो कार्यक्रमको प्रमुख लक्ष्य रहेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

नमस्ते रिड्र्स कलबको संयोजनमा यसै वर्ष विद्यार्थी श्रेयसी पन्थी, आयुषी राज भण्डारी र प्रशान्त चौधरीले पुस्तक प्रकाशन गर्न लागेको र यो अत्यन्तै गौरबको विषय रहेको स्कुल म्यानेजमेन्ट तथा बाल साहित्य महोत्सवमा सहभागी हुन फिलिपिन्स जाँदै गर्नु भएका विद्यालयका प्राचार्य जिग्मे शेर्पाले खुसी ब्यक्त गरे ।

 
 
  
 

You may also like