बुटवल । अधिकांश स्थानमा हिजो बिहिबार गाईजात्रा पर्व मनाइएको भएपनि रुपन्देहीको सैनामैनामा भने आज शुक्रबार मात्र गाइजात्रा (सापारु) पर्व धुमधामका साथ मनाइएको छ । साउन शुक्ल पुर्णिमाको भोलिपल्ट प्रतिपदा तिथिमा नेवाः समुदायले बिगत १ वर्षमा मृत्यु भएका मृतक परिवारको सदस्यको स्मरणमा गाईजात्रा अर्थात सापारु जात्रा प्रदर्शन गरेर मृतकको आत्माको चिरशान्तिको कामना गर्दछन् ।
सैनामैना नेवाः समाजको आयोजनामा सम्पन्न भएको सो गाईजात्रा (सापारु)मा स्थानिय नेवार समुदायका परिवारमा बिगत १ बर्षमा निधन भएका आफन्तको स्मरण र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै प्रदर्शन गरिएको थियो । स्थानिय अमृत श्रेष्ठको घरमा गतबर्ष दुईमहिना मात्रको फरकमा निजको आमा र निजको कान्छो छोराको निधन भएको सम्झनामा सैनामैना ३ हाटबजार लाईनबाट (सापारु) गाईजात्रा स्वरुप निर्गुण यात्रा निकालिएको थियो । यस्तै अन्य परिवारबाट पनि सापारु प्रदर्शन गरिएको थियो ।
सैनामैना ३ मुर्गियास्थित दुर्गाभवानी मन्दिरमा बिशेष पुजाको समेत आयोजना गरि बिभिन्न झाँकी सहितको सापारु प्रदर्शन गरिएको हो । सैनामैना नेवा समाजका सचिव खिम श्रेष्ठका अनुसार बिभिन्न घरबाट निकालिएका गाईजात्रा सहितको निर्गुन यात्रा मन्दिरमा पुगेपछि बिशेषरुपले तयार पारिएको सापारु प्रदर्शन गरिन्छ । यसपछि सामुहिक रुपमा मुर्गियाका बिभिन्न स्थानमा परिक्रमा गरि सापारु समापन गरिएको सचिव श्रेष्ठले बताए । सो अवसरमा नगरप्रमुख फणेन्द्र शर्मा, वडाध्यक्षहरु, समाजसेवी पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
सो अवसरमा बुटवलस्थित तिलोत्तमा नेवाः समाज र सैनामैनास्थित सत्यसाई केन्द्रका तर्फबाट निर्गुण प्रस्तुत गरिएको थियो भने सहभागिहरुलाई टिका, दक्षिणा, प्रसाद, सगुन आदी बितरण गरिएको थियो ।