प्रकाशन तथा प्रसारण संघले बुटवलमा मिडिया सम्मेलन गर्दै

by समतल अनलाइन

बुटवल ।लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन हुने भएको छ ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरु सहभागी हुने गरी भदौ १ गते सम्मेलन गर्न लागिएको हो । प्रकाशन तथा प्रसारण संघले यसरी मिडिया सम्मेलन गर्न लागेको यो पहिलो हो ।

मिडिया सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए । “सम्मेलनमा सञ्चारमाध्यमले खेल्दै आएको भूमिका, उनीहरुको संस्थागत विकासका साथै रोजगारी र पेशागत सुरक्षाका विषयमा समेत बहस र छलफल हुनेछ”–उनले भने ।

कुँवरका अनुसार सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिव १२५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहने छ ।

मिडिया सम्मेलनमा सञ्चारमाध्यमको हक हिताका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा पनि छलफल हुने संघका सचिव माधव नेपालले बताए ।

सम्मेलनमा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्पादकीय सन्दर्भमा तथा हिमाल खवर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

योगीकुटीस्थित होटल पौवामा आयोजना गरिने मिडिया सम्मेलनको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीकुमार चौधरीले गर्नेछन् भने प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेलाई पनि विेशष्टि अतिथीको रुपमा निम्त्याइएको छ ।

 
 
  
 

You may also like