चार प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुका साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षा भएको छ ।

आज (बिहीबार) देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
कञ्चनपुरमा अति भारी वर्षा, तटीय क्षेत्रमा होशियारी अपनाउन आग्रह
यता कञ्चनपुरको शान्तिपुर, बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षा भएको छ । उक्त क्षेत्र भएर बहने सुहेली, चौधर खोलालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने सम्भावना रहेको छ । तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा बिहानसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like