कीर्ते कागज बनाएर गरीबको उठिबास लगाउने श्याम परदेशी जेलमा, गाउँले अझै त्रासमा

by समतल अनलाइन

सर्लाही । कीर्ते तमसुक गराई २९९ विपन्नलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन् । परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन् ।

कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना पनि दुःख फर्किएलान् भनेर गाउँले त्रसित छन् ।
‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ ?’ लालबन्दी नगरपालिका–२ की फत्मा खातुनले भनिन् । अहिले पनि परदेशीका मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन् ।

‘फोनमा गाली गर्छन्, मनपरी भन्छन्,’ खातुनले भनिन्, ‘ऊ जेलमै रहिरह्यो भने मात्रै हामी केही हदसम्म ढुक्क हुन सक्छौँ, उसका मान्छेका तथानाम गाली त बरु सहौंला ।’

परदेशी कारागारबाट फुत्किने जोडमा छन् । जिल्ला अदालत सर्लाहीको आदेशविरुद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराइसकेका छन् । १४ कात्तिकमा पुनरावेदन निवेदन दर्ता गराएको उच्च अदालत स्रोतले बतायो । गत आइतबार भेट्दा परदेशीले पनि पुनरावेदनका लागि पारिवारिक सल्लाह भइरहेको बताए ।

तर, त्यो अघि नै उनले उच्चअदालतमा पुनरावेदन गरेका छन् । परदेशीको यो कसरतबाट विपन्न पीडित झन् त्रसित बनेका छन् । ‘परदेशी थुनाबाट निस्कियो भने हामी बर्बाद भइहाल्छौं,’ हरिपुर नगरपालिका–७ की शारदा चौधरीले भनिन्, ‘उसलाई राज्यले कसैगरी पनि निकाल्नु हुँदैन । नत्र हामी सयौँ पीडितका लागि अभिशाप हुनेछ ।’

परदेशीले मुद्दा फिर्ताका लागि जिल्ला अदालतकै कर्मचारी समेत प्रयोग गरेका छन् । अदालतका कर्मचारीले भोलि झन् समस्या पर्न सक्ने भन्दै मुद्दा फिर्ताका लागि दबाब दिएको ‘श्याम परदेशीपीडित संघर्ष समिति’ को नेतृत्व गरिरहेकी रुक्मिणी चौधरीले बताइन् ।

‘केही गरी परदेशी धरौटीमा छुट्यो भने गाह्रो पर्छ भन्दै अदालतकै कर्मचारी मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन् । बरु मिल्ने वातावरण बनाइदिन्छौं पनि भन्छन्,’ चौधरीले भनिन्, ‘तर, मैले मेरो जाहेरी फिर्ता नलिने बताएँ । किनभने परदेशीबाट पीडित भएका धेरै छन् । मैले आफ्नो स्वार्थ मात्रै हेर्नु हुँदैन ।’

पीडितलाई सबैभन्दा तनावको विषय बनेको छ, तमसुक । पूरै ऋण तिने पनि परदेशीले तमसुक नच्यातेको, उल्टै लाखौंको नक्कली तमसुक बनाएर भारतमा आफन्तकहाँ सुरक्षित राखेको पीडितहरूको बुझाइ छ ।

‘ऊसँग नक्कली तमसुक छन्, त्यो उसले मनमौजी बनाएको तमसुक हो । प्रहरीले ती सबै जफत गरेर नच्यातेसम्म हामीलाई कसरी शान्ति मिल्छ ? नक्कली तमसुककै आधारमा भोलिसम्म दुःख दिइरहन्छ, हामी त जिउँदै मरेतुल्य भइहाल्छौं,’ फत्मा खातुनले भनिन् ।

परदेशीले छोरीको विवाह भारतमा गरिदिएको र छोरीकै घर लगेर तमसुक लुकाएको आशंका पीडितहरूको छ । हरिपुर–७ की रीतादेवी साह त आफूलाई परदेशीले नै तमसुक छोरीकहाँ लगेर राखेको बताएको सुनाउँछिन् । ‘एक पटक मैले तमसुकबारे सोधेको थिएँ, उसले गाली गर्दै सबै इण्डिया लगेर राखेको र आफूलाई कसैले केही गर्न नसक्ने बताएको थियो,’ उनले भनिन् ।

सर्लाही प्रहरीले पनि परदेशीको घरमा छापा हान्दा धेरै तमसुक नभेटेको जनाएको छ । कतै लगेर लुकाएको आशंका गरेको छ । एसपी गोपालचन्द्र भट्टराईले हालसम्म भेटिएको प्रमाणकै आधारमा परदेशीलाई पुर्पक्षका लागि थुनामा राखिएको बताए ।

‘पीडितहरूले भनझैँ तमसुकहरू कहाँ छन् भन्नेबारे हामी तत्कालै कुनै अनुसन्धान गर्दैनौँ । भोलिका दिनमा समस्या पर्‍यो भने फेरि छापा मार्न सकिन्छ । अहिलेलाई हाम्रोतर्फबाट अनुसन्धान सकिएको छ,’ भट्टराईले भने ।

परदेशीले तमसुक नच्यातेको मात्रै होइन, पीडितले पैसा बुझाएपछि भर्पाई बिल पनि पाएका छैनन् । ‘हामीले उसको जम्मै पैसा बुझाइसक्यौँ, तर पैसा बुझाएको प्रमाण दिएको छैन,’ लालबन्दी–७ की सावित्री कापरले भनिन्, ‘हामीलाई ऊसँग आँखा जुधाएर कुरा गर्न पनि डर थियो । हातपात होला, गायब पारिदेला भन्ने डरले उसले जे–जे भने पनि स्विकार्नै पथ्र्यो ।’ नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like