नयां मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत

बुटवल । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नयां मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा डा. महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो – ‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’ , ‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।’

आफूले तस्करीको सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दावी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताउनुभयो ।

सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्स्थ्य वीमा बोर्डको वीमा रकम नपाएका कारण मनपरी बोलेको बताउनुभयो ।

पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुंदा बाहिर चर्चाका लागि बोल्ने नेताहरुबारे भ्रम हटेको प्रवक्ता महतले बताउनुभयो ।

नेपाल प्रेस युनियन रूपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like