बुटवलमा प्रदेश र नगरको सहकार्यमा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयअन्तरगत बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनका लागि छलफल भएको छ।

लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको एक वर्षपछि पढाइ शुरु गर्न थालेको विश्वविद्यालयको टोलीले शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टीमसँग छलफल गरेको हो।

बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डा. विनोद प्रसाद ढकालले चालु शैक्षिक सत्रबाट अध्ययन आरम्भ गर्ने योजना अनुसार बुटवलमा आंगिक सञ्चालनका लागि छलफल गरिएको बताउनुभयो।

उपकुलपति ढकालका अनुसार चालू शैक्षिक सत्रबाट ‘बिटेक इन आईटी’,‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ्’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम सञ्चालन गरिने छ ।

उहाँका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ र सूचना प्रविधि र रूपन्देहीमा कृषि, वन र पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन हुने छन् । त्यसका लागि बुटवल उपमहानगरपालिकासँग छलफल गरेको उहाँले बताउनुभयो।

बुटवलमा प्रदेशको विश्वविद्यालयले आंगिक कलेज सञ्चालनका लागि प्रस्ताव आएकाले त्यसैअनुसार सहकार्य गर्न बुटवल उपमहानगरपालिका तयार रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।

उहाँले विश्वविद्यालयलाई आवश्यक संरचना तयार गर्न र अन्य सहकार्यका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो।

उहाँले बुटवलमा प्रदेशकै सबैभन्दा ठूलो इन्जिनियरिङ कलेज स्थापनाको सम्भावनाबारे छलफल भएको बताउनुभयो। उहाँले अटो इन्जिनियरिङ, कृषि, वन र टनेल इन्जिनियरिङ र पर्यटनका क्षेत्रमा अध्ययन गर्ने कलेज स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढ्ने र आगामी वर्षदेखि केही विषयहरुको अध्ययन शुरु गर्ने गरी काम थाल्ने समझदारी भएको बताउनुभयो।

 
 
  
 

You may also like