देशभर वर्षा : बागमती र गण्डकीमा भारी वर्षा हुने, सोमबारदेखि बढी पानी पर्ने

काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । यस्तै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ ।

आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । आज राति भने मधेस र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार तुलनात्मकरूपमा आगामी सोमबार र मंगलबार बढी मनसुनी वर्षा हुनेछ । ‘मनसुन आज र भोलिलाई सामान्य छ । शनिबार र आइतबारको तुलनामा सोमबार र मंगलबार बढी वर्षा हुने सम्भावना छ’, उनले भने ।

 
 
  
 

You may also like