सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् ।

राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘सुशासन समृद्धिको पूर्वसर्त हो । सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छ’, उनले भने, ‘सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्याङ्कनसहित आभार व्यक्त गर्न चाहन्छु ।’

धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन, दोषी अपराधी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको बताए । उनले साधन स्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको जानकारी दिए ।

‘प्रहरी फोर्सभित्र वृत्तिविकास र भौतिक पूर्वाधारको समस्या छ’, उनले भने, ‘सीमासुरक्षा, अपराध नियन्त्रण, शान्तिसुरक्षा प्रभावकारी बनाउने, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, भेदभावको अन्त्यका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन साधनस्रोतको सीमाका बाबजुद हामी अधिकतम प्रयास गरिरहेका छौँ ।’
सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दृढ रहेको उनको भनाइ छ । तस्करी, लागुऔषधको ओसारपसार तथा दुर्व्यसनी नियन्त्रण गर्न मन्त्रालयले गम्भीरतापूर्वक काम अगाडि बढाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 
 
  
 

You may also like