विश्वमा खाद्यान्न संकट कोरोना महामारीअघिको अवस्था भन्दा माथि

काठमाडौं । विश्वमा खाद्यान्न संकट कोरोना महामारीअघिको स्तरभन्दा माथि रहेको प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा विश्व जनसंख्याको ७ दशमलव ९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो संख्या बढेर ९ दशमलव २ प्रतिशत पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा भोकमरी उन्मूलन हुने सम्भावना नरहेको उल्लेख छ । गएको वर्ष अनुमानित ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाख मानिसले भोकमरीको सामना गरेका थिए ।

अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएको देखिएको छ । प्रतिवेदनमा विश्वले अझै पनि महामारीको असर खेपिरहेको र अहिले रुस–युक्रेन युद्धले थप जटिलतातर्फ लगेको उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१९ यता खाद्य संककटबाट थप १२ करोड २० लाख मानिसलाई भोकमरीतर्फ लगेको छ ।

विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषण जस्ता सबै प्रकारका खाल संकटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहने प्रतिवेदनमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०३० को पोषण लक्ष्य हासिल गर्ने दिशामा केही क्षेत्र अघि बढेको पनि बताएका छन् ।

तर समग्रमा दिगो विकास लक्ष्यलाई उकास्न तीव्र र तत्काल विश्वव्यापी प्रयासको खाँचो रहेकोमा उनको जोड छ । खाद्य असुरक्षा र कुपोषणका प्रमुख कारक द्वन्द्व, आर्थिक संकट, प्राकृतिक विपत्तिका साथै असमानता रहेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले बताएका छन् ।

 
 
  
 

You may also like