८२ दिनपछि ओली–नेपाल भेटवार्ता, चार घण्टासम्म के भयो कुरा ?

by समतल अनलाइन

काठमाडौं । तिक्त विवादको ८२ दिनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीच चार घण्टा लामो एक्लाएक्लै छलफल भएको छ ।

ओली र नेपालबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सञ्चालनसहित समसामयिक राजनीतिक परिस्थिति र भारतसँगको सीमाविवादमा केन्द्रित रहेर चार घण्टा लामो छलफल भएको हो । भेटवार्तामा उनीहरूले तिक्त सम्बन्धको समीक्षा गर्दै कमी कमजोरी दोहोरिन नदिने र संवाद बाक्लो बनाउने सहमति समेत गरेका छन् ।

५ भदौमा बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली–नेपालबीच चर्काचर्की परेको थियो । सिंगापुरमा उपचारका लागि जानुअघि डाकिएको बैठकमा नेपालले दिएको स्वास्थ्यलाभको शुभकामना ओलीले अस्वीकार गरेपछि भनाभन भएको थियो । ओलीले आफ्नो स्वास्थ्यविरुद्ध अफवाह फैलाएको आरोप नेपालमाथि लगाएका थिए ।

अर्का अध्यक्ष प्रचण्ड, नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले हस्तक्षेप गरेर दुई नेतालाई थमथमाएका थिए । त्यसयता ओली–नेपाल सचिवालय र सर्वदलीय बैठकहरूमा आमने–सामने भए पनि सामान्य बोलचालसम्म थिएन ।

ओली र प्रचण्डले नेपाललाई समेत छलफलमा राख्दै आएकोमा पछिल्लो पटक सचिवालय बैठकमा उनको असहमतिका बाबजुद प्रदेश प्रमुखहरूको निर्णय भएको थियो । प्रदेश प्रमुखको निर्णयमा नेपालले असहमति जनाएका थिए ।

ओली–नेपाल सम्बन्ध चिसिएपछि दुवै समूहका कतिपय नेताहरू चिन्तित थिए । प्रधानमन्त्री ओली निकट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुवै नेताले संवादमार्फत विश्वासिलो वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।

दशैंअघि नै प्रधानमन्त्री ओली संवादमार्फत सम्बन्ध सुधारमा तयार रहेको भन्दै जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले नेपालसँग सम्पर्क गरेका थिए । पछिल्लो पटक प्रधानमन्त्री ओलीको आग्रहमा समीक्षात्मक संवादपछि सम्बन्ध सुधार भएको निकट नेताहरूको दाबी छ ।

‘नेताहरूबीचको एकता, सहकार्य र उच्चस्तरीय समझदारीबाटै पार्टी एकता प्रक्रिया सम्पन्न भएर यहाँसम्म आइपुगेको हो,’ केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले छलफलमा भएको समझदारी उद्धृत गर्दै भने, ‘उहाँहरूले सबै एक भएर जनताले दिएको म्यान्डेट पूरा गर्न सरकार र पार्टीलाई अघि बढाउन एकता अपरिहार्य भएको छलफलबाट निष्कर्ष निकाल्नु भएको छ ।’

तिक्त सम्बन्ध अन्त्य गर्दै मन माझामाझ
ओली–नेपालले पछिल्लो तिक्त सम्बन्धमा केन्द्रित रहेर समीक्षात्मक छलफल गरेको उच्च स्रोतले जनाएको छ । नेपालले आफूले नोट अफ डिसेन्ट राख्दै आउनुको कारण प्रस्ट्याएका थिए ।

ओलीले भने कतिपय दोस्रो तहका नेताहरूको गलत रिपोर्टिङका कारण पनि एकता प्रक्रियाका सन्दर्भमा कमजोरी भएको हुन सक्ने भन्दै आइन्दा त्यस्तो नहुने जवाफ फर्काएका थिए । उनीहरूले सम्बन्धबारे लामो समीक्षापछि संगठित सदस्यताको व्यवस्थापन तथा तल्ला कमिटीहरूको एकीकरणपछि पूर्णता दिने सवालमा समेत केन्द्रित रहेर छलफल गरेको स्रोतको भनाइ छ ।

नेपाललाई कार्यालय भवन निर्माणको नेतृत्व लिन प्रस्ताव
भेटमा प्रधानमन्त्री ओलीले पार्टी कार्यालय भवन निर्माणको नेतृत्व लिन नेपाललाई प्रस्ताव गरेका छन् । साबिक एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमै नयाँ भवन बनाउने नेकपाको तयारी छ ।

धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठानको कार्यालयमा मासिक भाडामा नेकपाले केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ । साबिक माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भने नेकपाले केन्द्रीय विभाग र जनवर्गीय संगठनहरूको कार्यालय राखेको छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like