ललिता निवास प्रकरण : तीन आरोपितको रिट भट्टराई र फुयालको इजलासमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन आरोपितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आज (मंगलबार) न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुँदैछ । हद म्याद सकिइसकेको मुद्दामा पक्राउ गरिएको भन्दै दायर रिटमा सुनुवाइ हुन लागेको हो ।

गएको बिहीबार सर्वोच्च अदालतमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट रिटहरू दायर गरिएको थियो । उक्त रिटहरूमा न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

सोमबार प्रहरीका तर्फबाट उनीहरूलाई पक्राउ गर्नुको कारणसहितको लिखित जवाफ पेस गरिएको थियो । गृह मन्त्रालय समेतलाई विपक्षी बनाइएको रिट निवेदनमा यो कसुरमा मुद्दा चल्न नसक्ने र सर्वोच्च अदालतले नै हदम्याद नाघिसकेको भनी आदेश गरिसकेकाले आफूहरुलाई थुनामा राख्न नमिल्ने माग गरिएको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले १७ जनालाई यो मुद्दामा पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशलाई आधार मान्दै तीनजना छुटेका थिए । सर्वोच्चले उक्त आदेश गर्दाका फाइलसमेत सँगै पेस गर्न भनेको छ । यो प्रकरणमा सीआईबीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ ।

 
 
  
 

You may also like