झुठा विवरण पेश गरी नागरिकता दिलाउन खोज्ने दम्पत्ति पक्राउ

बुटवल । आफ्नै सन्तान भनेर झुठा विवरण पेश गरी ३ जनालाई नागरिकता दिने प्रयास गरेको आरोपमा ईलाका प्रशासन कार्यालय बुटवलबाट एक दम्पत्तिलाई नियन्त्रणमा लिइएको छ । बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीय सिता कशौधनको दम्पत्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको ईलाका प्रशासन कार्यालय बुटवलका सुचना अधिकारी विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।

उनिहरुले आफ्नो छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्म मिति र २०५९ साल १ महिना १७ गते जन्म मिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्म मिति भएका एक जनालाई छोरा भनि विवरण पेश गर्दै नागरिकता दिने प्रयास गरेका थिए । नागरिकता बनाउन ईलाका प्रशासन कार्यालय बुटवलमा आइतबार उपस्थित भएका उनीहरुलाई गोप्य सूचनाका आधारमा झुठा विवरण पेश गरेको थाहा भएपछि नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लगिएको थियो । ईलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गर्दा उनीहरुले अर्कैका छोराछोरीलाई आफ्नो भनि नागरिकता दिने प्रयास गरेको भेटिएको प्रतिवेदनसहित ईलाका प्रशासन कार्यालयलाई प्राप्त भएको सुचना अधिकारी ज्ञवालीले बताए ।

उनीलाईलाई झुठा विवरण बनाएर नागरिकता प्रदान गर्नका लागि बुटवल उपमहानगर वडा नम्बर १ का अध्यक्ष नगेन्द्र बस्नेतको समेत संलग्नता देखिएको छ । अर्कैका छोराछोरीलाई आरोपित रमेश कशौधनको छोराछोरी भनि सिफारिस गर्ने वडा अध्यक्ष बस्नेतलाई भने नियन्त्रणमा लिइएको छैन । वडा अध्यक्ष बस्नेतले उनीहरुको नाता सम्बन्ध बारे जानकार हुँदाहुँदै पनि गलत नियत राखेर नागरिकता प्रदान गर्नका लागि झुठा विवरणमा सहयोग गरेको स्रोतको दाबी छ ।

 
 
  
 

You may also like