थाप्लेमा हनुमतधाम निर्माण गरिने

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित थाप्लेमा हनुमतधाम निर्माण गरिने भएको छ । प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आइएको थाप्लेको भूमे मन्दिर नजिकै हनुमतधाम निर्माण गर्ने गरी पहल बढाइएको हो ।

धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ । यसअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति रहने जनाइएको छ । डोमबाट ६४ फिट उचाइमा हनुमानको मूर्ति रहने छ । मूर्तिसहित राम–सीताको मन्दिरलगायतका संरचना रु २३ करोड ७३ लाख ५३ हजारको लागतमा निर्माण हुनेछ ।

धाम निर्माणका लागि सोमबार आयोजित बृहत् छलफल एवं अन्तरक्रियामा वक्ताहरूले कुनै पनि आग्रह–पूर्वाग्रह नलिई यस क्षेत्रको समुन्नतिका लागि एकजुट बन्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले महाबली हनुमानले लक्ष्मणलाई बचाउनका लागि कालाञ्जर पर्वतबाट सञ्जिवनी बुटी ल्याउने क्रममा यस स्थानमा टेकेको विश्वास रहेको बताए । यहाँस्थित शिलामा हनुमानका पाइला रहेको विश्वास गरिन्छ ।

यहाँ हनुमतधाम निर्माण गरेसँगै यो गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालको नै विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्ने उनले बताए । धामसँगै यस स्थानमा हनुमत औषधालय, गुरुकूल आदि निर्माण हुने उनले बताए । अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले यस क्षेत्रको समृद्धि र विकासका लागि हनुमतधाम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए । धाम निर्माणमा गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने उनले बताए ।

प्रदेशसभा सदस्य प्रकाश बरालले पुम्दीकोटमा विशाल महादेव निर्माणको अनुभव व्यक्त गर्दै निर्माणमा प्रत्येक स्थानीयले अपनत्व लिनुपर्ने आवश्यकता औँल्याए । प्रदेशसभा सदस्य सरस्वती गुरुङले यस स्थलको सुन्दरता र महत्वलाई उजागर गर्न हनुमतधाम निर्माणलाई निष्कर्षमा पुर्‍याउनु पर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय प्रचार विभाग सदस्य राजबहादुर गुरुङले निर्माणाधीन हनुमतधामसँगै आसपासका पुम्दीकोटको शिवमन्दिर, पञ्चासे, कास्कीकोट, सराङकोट हुँदै तान्चोकसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई समेटेर विकास गर्न सकिने बताए ।

अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवरले अघिल्लो कार्यकालमा ताल चियाउने गराबाट थाप्लेसम्म आउने पदमार्गको निर्माणसँगै यस क्षेत्रको पूर्वाधार निर्माणमा पहल गरिएको बताए । नेकपा (माओवादी केन्द्र ) अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष शोभाखर अधिकारीले हनुमतधामलाई पुम्दीकोट, पञ्चासे, कास्कीकोटको कृष्ण मन्दिर, सराङ्कोटको गणेश मन्दिरसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद कुँवरले धाम निर्माणका लागि साथ र सहयोग गर्ने विश्वास व्यक्त गरे ।

 
 
  
 

You may also like