असारभित्रै बुढीगण्डकी आयोजना शिलान्यास हुन्छ : प्रधानमन्त्री

धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक–पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए ।

उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।’

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको आज भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए । उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले अहिलेको गठबन्धन पाँच वर्ष जाने बताएका छन् । धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले कता–कता यो सरकारको आयु कति भनेर मिडियामा हुने–नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ ।’ १८औँ शताब्दीमा कार्लमार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ् भनेको स्मरण गर्दै उनले भने, ‘दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जानेतिर मेरो ध्यान छ ।’

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको उनको भनाइ थियो । आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उनले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास व्यक्त गरे ।

 
 
  
 

You may also like