शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बुटवलले ल्यायो २ अर्ब ३६ करोडको बजेट

दुईवटा अस्पताल सञ्चालन गर्ने, आम्दामा आमा सुरक्षा कार्यक्रम लागू गरिने, छाडा चौपाया व्यवस्थापनको लागि प्रदेश र स्थानीय सरकारहरुसँग सहकार्य गर्ने कार्यक्रम
बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०।८१ का लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ ।
बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य तय गर्दै शिक्षामा विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा दुईवटा अस्पताल सञ्चालन गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख छुट्याइएको छ ।

बजेटले स्वास्थ्यतर्फ बुटवल १३ र १७ मा १५।१५ शैयाका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न २ करोड बजेट छुट्टिएको छ । वडा नं. १३ को अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने, बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क गराउने घोषणा बजेटमार्फत गरिएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको उपप्रमुख अर्यालले बताउनुभयो ।
नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने, स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन, नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान दिने कार्यक्रमले निरन्तरता पाएका छन् ।

विद्यालयहरुको स्तरोन्नति तथा भौतिक सुधारका लागि २ करोड रुपैयाँ, बुटवलमै स्वास्थ्य जनशक्ति उत्पादनका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पारामेडिकल शिक्षा शुरु गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ ।
बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु, अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन आरम्भ गर्ने घोषणा गरिएको छ ।
उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट र सौन्दर्यीकरणका लागि ४ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।

बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन तय गर्ने र त्यसको व्यवस्थापन तथा सहकार्यमा नगरले जनशक्ति परिचालन गर्ने कार्यक्रम ल्याएको छ ।
नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुरी आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न २ करोड, वडाहरुको समग्र विकासका लागि १६ करोड ५० लाख छुट्याइएको छ । यस्तै, बुटवलमा पार्किङ्ग व्यवस्थापन गर्न सार्वजनिक र निजी जग्गाको उपयोग गर्ने कार्यक्रम नगरले ल्याएको छ ।

बुटवलभित्रका सबै गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख अर्यालले बताउनुभयो ।
बुटवलले व्यवसाय दर्ता, नवीकरण, घरबहाल करजस्ताक्षेत्रको राजस्व संकलन गर्न र दायरा बढाउनका लागि राजस्व संकलन स्पेशल टास्क फोर्स गठन गरी परिचालन गर्ने नीति अगाडि सारेको छ ।

यस्तै, बुटवलमा रात्रीकालीन बजार सञ्चालन, छाडा चौपाया व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गाई राष्टिय निकुञ्ज स्थापना गर्ने, लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थलका रुपमा विकास गर्ने कार्यक्रम ल्याइएको छ ।
बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न बुटवल लगानी सम्मेलन आयोजना गर्ने, रात्रीकालीन बजार सञ्चालन तथा पर्यटन प्रवद्र्धन, जीतगढी किल्ला, मणिमुकुन्दसेन दरबार, जितगढी युद्ध संग्रहालयलाई नगर सम्पदाका रुपमा प्रवद्र्धन गर्ने कार्यक्रम बुटवलले ल्याएको छ ।

खेलाडी उत्पादनका लागि नगरको प्रमुख खेलकुद कार्यक्रमका विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ । यस्तै, मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउन तथा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै गर्ने कार्यक्रमले बजेटमा स्थान पाएका छन् ।

महिलाहरुलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास, अपाङ्गता भएका व्यक्तिहरुलाई सीप र रोजगारसँग जोड्ने कार्यक्रम बजेटमा ल्याइएको छ ।
एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने भनिएको छ ।
बजेट प्रस्तुत गरेपछि नगरसभाको बैठक असार १३ गतेसम्मका लागि स्थगित भएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

बजेटपछि संक्षिप्त प्रतिक्रिया दिदै नगर प्रमुख पाण्डेयले यसपटकको बजेटले उज्यालो बुटवल बनाउने, सडकहरुको सौन्दर्यीकरण गर्ने, बसपार्कको सौन्दर्यीकरण गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम र पारामेडिकल शिक्षा शुरु गर्ने, छाडा चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि गाई राष्टिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुसँग पहल गर्ने कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले यसपटकको बजेटले बुटवलको मुहार बदल्ने विश्वास गरिएको र यसले जनतासँग जोडिएका विषयहरुलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै शैक्षिक सुधार तथा स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सुधार तथा जनशक्ति उत्पादनमा जोड दिइएको बताउनुभयो ।

 
 
  
 

You may also like