अपाङ्गता परिचय पत्र ः सिद्धार्थनगरले दिएको खुशी

भैरहवा।सिद्धार्थनगर नगरपालिका–१० का वासुदेव मुराउ (७०) कृषक हुन् । कृषि पेशाबाटै उनले परिवारको गुजारा चलाउँदै आएका थिए । परिवारका सदस्यहरुको मुहारमा खुशी झल्काउन सफल थिए उनी । तर, उनको परिवारको खुशी दैवलाई स्विकार भएन । दशकौ देखिको परिवारको खुशी दैवले केही सेकेण्डमै खोशिदियो । करिब एक वर्ष अघि सवारी दुर्घटनामा मुराउले आफ्नो दायाँ खुट्टा गुमाउनु पर्यो । खेतीपाती गरेर परिवारको गुजारा चलाउँदै आएका उनलाई दुर्घटना पछि समस्या पर्न थाल्यो । घरको मुखिया भएतापनि परिवारको गुजारा चलाउन उनी खुट्टाकै कारण वेवस भए । तर, वेवस भएपनि चर्को घाममा पसिना बगाएर हुर्काएका छोराहरु नै उनको साहरा बन्न पुगे । दुई छोरा मध्य कान्छो बाध्यताले आफ्नो मुलुक छाडेर वैदशिक रोजगारीका लागि खाडी पुग्नुपर्यो । कान्छो हाल विदेशबाट फर्किएका छन् । तर, परिवारको गुजारा चलाउन दुई भाई छोरा माथी जिम्मेवारी थपिएको छ । कृषि पेशा गरेरै जेनतेन उनीहरुले परिवारको गुजारा चलाउँदैछन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ का अकरम अली पठान औषधी पसलमा जागिर गर्छन् । उनका चार छोरी र एक छोरा छन् । माइलो छोरी रुकसाना खातुन जन्मजात कान सुन्न सक्दिनन् । वुवा अकरमले छोरी जन्मिएको ३ महिना पछि भारतको गोरखपुरमा जाँच गराए । र, थाहा पाए छोरीले सुन्न सक्दिनन् । छोरी उमेरले २० वर्ष पुगिन् । तर, सुनाई सम्बन्धी अपाङ्गता रहेकी छोरी राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित थिइन् । पाँच सन्तान सहित परिवारको जेनेतन अकरमले गुजारा चलाउँदै आएका छन् ।

वासुदेव र रुकसाना प्रतिनिधीमुलक पात्र मात्र हुन् । यस्ता पात्र अधिक छन् । तर, वासुदेव र रुकसाना जस्ता पात्रहरुको संख्या बढ्दै गएपनि राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट उनीहरु बञ्चित हुदै आएका थिए । संघिय र प्रदेश सरकार ‘राजनीति’ मै व्यस्त छन् । घरदैलो सरकारको भने काममा व्यस्त छ । यस किसिमका पात्रहरुलाई स्थानीय सिद्धार्थनगर नगरपालिकाले विशेष निगरानीमा राखेर काम गर्दै आएको छ । दैवले परिवारको मुहारबाट खोसेको खुशी थोरै भएपनि नगरपालिकाको कार्यालयले दिने प्रयास गरेको छ ।

‘बुवाको दुर्घटना भएपछि सरकारी निकायबाट पाउनुपर्ने सेवा सुविधा कसैले दिएनन, थाहा पनि थिएन’ वासुदेव मुराउका छोरा धर्मेन्द्र मुराउले भने, तर नगरपालिकाको स्थानीय समन्वय समितीले हामीलाई सम्झिएर विह्ल चेयर र राज्यबाट सेवा सुविधा लिनका लागि ‘क’ वर्गको अपाङ्गता कार्ड उपलब्ध गराएको छ, नगरपालिकाले राम्रो काम गरेको छ ।’

नगरमा रहेका अपाङ्गता व्यक्तिलहरुलाई नगरपालिकाको कार्यालयको अपाङ्गता परिचय वितरण गर्ने समेत कार्यका लागि गठित स्थानीय समन्वय समितीले खोजी गर्दै अपाङ्गता व्यक्तिहरुको अधिकार उनीहरुलाई प्रदान गर्न थालेको छ । जसका लागि परिचय पत्र वितरणका लागि कार्यविधी नै बनाइएको छ । परिचय पत्र चार भाग ‘क’, ‘ख’, ‘ग’, ‘घ’ मा वर्गीकरण गरिएको छ । समितीको बैठक बसेर मापदण्ड अनुसार परिचय पत्र वितरण गर्ने गरिएको छ ।

‘हामीले कार्यविधी अनुसार एक वर्षमा एक सय जना अपाङ्गता भएका व्यक्तिहरुलाई खोजी÷पहिचान गरी परिचय पत्र उपलब्ध गराएका छौँ’ सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख एवं समितीको संयोजक उमा अधिकारीले भनिन्, ‘वर्षौ भइसकेपनि धेरै जनाले परिचय पत्र पाउनु भएको थिएन, हामी निर्वाचित भएर आएपछि अपाङ्गता व्यक्तिहरु खोजी÷पहिचान गर्दै उहाँहरुको अधिकार उहाँहरुलाई दिइरहेका छौँ ।’

नगरपालिकाले अपाङ्गतालाई दश प्रकार शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाई समबन्धी अपाङ्गता, श्रवण दृष्टिबिहिन अपाङ्गता, स्वर र बोलाई सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसमाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिजम सम्बन्धी अपाङ्गता र बहुअपाङ्गतामा विभाजन गरेको छ ।

समितीले ४९ जनालाई शारीरिक अपाङ्गता, ५ जनालाई दृष्टि सम्बन्धी अपाङ्गता, ९ जनालाई सुनाई समबन्धी अपाङ्गता, २ जनालाई मानसिक वा मनोसमाजिक अपाङ्गता, १२ जनालाई बौद्धिक अपाङ्गता, ४ जनालाई अटिजम सम्बन्धी अपाङ्गता र १९ जनालाई बहुअपाङ्गता परिचय पत्र विवतरण गरिएको समितीको संयोजक उमा अधिकारीले बताइन् ।

‘क’ वर्गको ४ जना महिला र १० जना पुरुष गरी १४ जना, ‘ख’ वर्गको २२ जना महिला र ४० जना पुरुष गरी ६२ जना, ‘ग’ वर्गको ३ जना महिला र १५ जना पुरुष गरी १८ जना, ‘घ’ बर्गको १ जना महिला र ५ जना पुरुष गरी ६ जनालाई परिचय पत्र उपलब्ध गराइएको समितीले जनाएको छ । यी मध्ये ‘क’ वर्ग परिचय पत्र प्राप्त व्यक्तिले मासिक तीन हजार नौ सय ९० रुपैयाँ र ‘ख’ वर्गकाले दुई हजार एक सय २८ रुपैयाँ प्राप्त गर्ने गरेका छन् । विपन्न परिवारलाई यही सुविधाले समेत थोरै भएपनि राहत पुग्ने नगरपालिकाको विश्वास छ ।

‘वितरण गरिएको अपाङ्गता परिचय पत्र, परिचय पत्र मात्र होइन्’ संयोजक अधिकारीले भनिन्, ‘परिचय पत्रकै आधारमा उहाँहरुले राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउन थाल्नु भएको छ ।’ अन्य व्यक्ति भन्दा अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले विभिन्न सेवा सुविधा दिदै आएको छ ।

‘छोरी जन्मजात कान सुन्न नसक्ने भएपनि राज्यबाट केही सेवा सुविधा पाइएको थिएन’ रुकसानाका वुवा अकरमले भने, नगरपालिकाले छोरीलाई अपाङ्गता परिचय पत्र दिएको छ, खुशी लागेको छ, भत्ता समेत पाउन थालिएको छ , यसले थोरै भएपनि हामीलाई राहत भएको छ ।

यस्तै समितीका अनुसार नगरपालिकाको स्थानीय समन्वय समिती र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा निकै न्यून रकममा नगरका २० जना अपाङ्गता भएका व्यक्तिहरुको काठमाण्डौँ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रमा उपचार समेत भइरहेको छ ।

 
 
  
 

You may also like