बुटवलमा १० करोड लगानीमा आई.टी. सफ्टवेयर कम्पनी स्थापना

बुटवल । सि.एस.आई.टी. र सफ्टवेयर ईन्जिनियरिङ्गका बिद्यार्थीहरुका लागि अभ्यास, खोज, अनुसन्धान र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले बुटवलमा टुना टेक्नोलोजीको स्थापना गरिएको छ । बिश्वप्रसिद्ध टेक्नोलोजीमा नेपाली बिद्यार्थीहरुका लागि वेभ डेभलपमेन्ट, वेभ डिजाईन, सफ्टवेयर एप्लिकेशन, बिश्वमा चलेका संचार प्रबिधि र ईन हाउस ईन्टर्नसिपको ब्यबस्था गरिएको छ । यो उच्चस्तरिय आधुनिक प्रबिधि भएको र यसबाट सन्चार प्रबिधि आइ.टि.र सफ्टवेयर प्रोगामिङ्गका लागि काठमाडौं वा बिदेश जानु पर्ने अवस्थाको अन्त्य भएको छ ।

बिगत एक बर्षदेखि आंशिक रुपमा सेवा उपलब्ध गराउदै आएको टुना टेक्नोलोजीले देशबिदेशमा लामो समय काम गरेका अनुभवी र बिज्ञहरुबाट पुर्णकालिन सेवा शुरु गरेसँगै छोटो समयमा उपभोक्ताको मुख्य रोजाईमा पर्न थालेको छ । ब्यावसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइड तथा सूचना प्रविधि सम्वन्धी सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको सो टुना टेक्नोलोजी गुणस्तरीय सेवाकै कारण आम उपभोक्ताको मन जित्न सफल भएको हो ।

योगिकुटीमा मुख्य कार्यालय रहेको सो कम्पनीका अध्यक्ष गणेशचन्द्र पोखरेलले आईटी सेक्टरको उच्चस्तरिय सेवा प्रदायक कम्पनी लुम्बिनी प्रदेशमा पहिलो पटक स्थापित भएर सेवा दिंदै आएको बताउनु भएको छ । दक्ष युवाहरुलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका आई टि विद्यार्थीहरुलाई ईनहाउस ईन्टर्नसिप गराउने समेतका गर्दै आएको उहाले बताउनु भयो । आधुनिक प्रबिधिको प्रयोग गरि सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिईएको उहाले दाबी गर्नुभयो ।

कार्यक्रममा टेक्नोलोजीका प्रमुख प्राविधिक (सिटिओ) सर्वजित मिश्राले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताउदै नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने जानकारी गराउनु भयो । हाल आफ्नै डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहेपनि भविष्यमा हुनसक्ने बताउनु भयो । प्लाटफर्म नै सरक्षित भएकाले ह्याकिङ, स्क्याम्को सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरु दिदै आएको बताउनु भयो ।

कम्पनीका सिईयो राजिव गौतमले ब्यक्तिगत र ब्यावसायिक दुबै प्रकारका एकाउन्ट बनाएर सेवा दिदै आएको जानकारी गराउदै कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपि, एच.एम.एस र साझा मेनु बजारमा लन्च भैसकेको बताउनु भयो । विशेषगरी बजारको माग अनुसार सफ्टवेयर उत्पादन, होटल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरि फरकफरक क्षेत्रका सफ्टवेयर संचालन भैरहेको उहाँको भनाई छ । बिषयगत रुपमा बजार प्रतिनिधि तयार गरेर माग अनुसारको उत्पादन गर्दै आएको उल्लेख गर्दै उहाँले सरकारी कार्यालयमा समेत सेवा दिदै आएको जानकारी गराउनु भयो ।

उहाँले भन्नु भयो—डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ । सर्भर विदेशीको लिनुपर्ने बाध्यता रहेको छ । टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको छ । यसैगरी भित्री रुपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको छ । कम्पनीका संचालक धुव न्यौपाने, ई. प्रदिप भण्डारी, जिवन कुँवर र दुर्गा भण्डारीले बजारको माग अनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताउनु भयो ।

स्थानिय युवाहरुको सक्रियतामा स्थापना भएको सो कम्पनी करीब १० करोड रुपैयाँ लागतमा स्थापित भएको हो । हाल कम्पनीले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । स्वदेशमा काठमाडौं र विदेशमा सिड्नी अष्ट्रेलियामा शाखा कार्यालय रहेको कम्पनीका प्रबन्ध निर्देशक माधव अर्यालले बताउनु भएको छ । आईटी र सफ्टवेयरको गुणस्तरिय सेवाका लागि बिदेश जानु पर्ने अवस्थाको अन्त्य भएको दावी उहाँले गर्नुभएको छ ।

 
 
  
 

You may also like