प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । आउँदो आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । शनिबार अबेरसम्म प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गरेका थिए ।

त्यसपछि प्रतिनिधिसभा बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो । ‘राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख घिमिरेले भने ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ । दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । प्रतिनिधिसभाको आज (आइतबार) १ बजे वैठक बस्दैछ ।

 
 
  
 

You may also like