‘क्लिन’, ‘ग्रिन’ सिद्धार्थनगर ः वडा कार्यालय–५ द्धारा डस्टबीन वितरण

भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ को रुपमा विकसित गर्नका लागि नगरपालिकाको कार्यालयले नगरमा विभिन्न कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रम अन्र्तगत सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयले शुक्रवार वडालाई सफा राख्न डस्टबीन वितरण गरेको छ ।

कार्यालयद्धारा शुक्रवार एक कार्यक्रमका बीच वडामा संचालित व्यवसायिक प्रतिष्ठानहरुलाई डस्टबीन वितरण गरिएको सद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।

उनले सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न वडा कार्यालयले प्रयास गरेको बताए ।

‘वडा कार्यालय दर्ता भएका २ सय ५० वटा व्यवसायिक प्रतिष्ठानका सञ्चालकहरुलाई डस्टबीन वितरण गरेका छौँ’, उनले भने, ‘यसले वडा÷नगरलाई सफा राख्नमा व्यवसायिक प्रतिष्ठानलाई प्रोत्साहित गर्नेमा विश्वस्त छौं ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा नम्बर ५ ले रचनात्मक कार्यहरु गरेको भन्दै प्रशंसा गरे । उनले सडक–नालामा तथा जथाभावी फोहर नफाल्न आग्रह गरे ।

‘नगरवासीले फोहोरमैला ढल–नालामा फाल्ने गर्दा ढल–नाला जाम हुने र वर्षाको समयमा नगरवासीलाई समस्या पर्ने हुदाँ कसैले पनि ढल–नालामा फोहोर नफाल्नुहोस्’ उनले आग्रह गर्दै भने, ‘नगरलाई सुन्दर र सफा राख्ने दायित्व नगरपालिकाको मात्र नभई हामी सबै नगरवासीको पनि हो , हामीले सबै मिलेर नै नगरपालिकालाई नमुना बनाउने हो ।’

सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउन नगरपालिकालाई मात्र जिम्मेवारी दिएर नहुने भएकाले सबैको भूमिका महत्वपूर्ण रहनुपर्ने उनको भनाई छ ।

नगर उपप्रमुख उमा अधिकारीले डस्टबीन संकलन गरिएको फोहर सडकमा नभइ नगरपालिकाको ट्याक्टरमा फाल्न आग्रह गरिन् । उनले भनिन्, ‘सरसफाई अभियानमा सबै मिलेर अघि बढौं ।’ सिद्धार्थनगर वडा नम्बर ५ ले सराहनीय कार्य गरिरहेको उनको भनाइ छ ।

समाजसेवी तथा भैरहवा मर्निङ वाक ग्रुप अध्यक्ष ओमकार गौचनले वडा नम्बर ५ वडा कार्यालयले गरेको कार्यबाट वडाबासीले गर्वको अनुभुति गरिरहेको बताए । उनले डस्टबीन वितरण महत्वपूर्ण कार्य भएको बताए ।

सिद्धार्थनगर–५ का वडा सदस्य प्रेम नारायण गुप्ताले डस्टबीन वितरण कार्यक्रमले नगर तथा वडालाई सफा र हराभरा राख्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको विशिष्ट आतिथ्यता, वडा सदस्य प्रेम नारायण गुप्ताको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like