बुटवल उपमहानगरपालिकाले सार्वजनिक ग¥यो १ वर्षका उपलब्धि

एकवर्षमै अस्पताल निर्माण र केही ठूला योजनाका काम शुरु
बुटवल । बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले ४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गर्नुभयो ।

उपलब्धि तथा प्रयासहरु सार्वजनिक गर्दै उहाँले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलबासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालयहरु, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो ।

उहाँले बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने बताउनुभयो । जनताको सेवकका रुपमा भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले सधैभर बुटवल र बुटवलबासीको पक्षमा हुने कामलाई लिएर संघ र प्रदेश सरकारलाई झकझक्याइरहेको बताउनुभयो ।

‘म यो वार्षिक समीक्षाकार्यक्रममार्फत पुनः दोहो¥याउन चाहन्छु, हामी जनताका सेवक हौं, यहीअनुरुप प्रतिबद्ध भएर समृद्ध बुटवल बनाउने अभियानको महायज्ञमा निरन्तर सेवाभावले लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’–उहाँले भन्नुभयो–‘स्थानीय निर्वाचनमा बुटवलबासीले दिनुभएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन मस्तिष्कमा राखेर बुटवलबासी र बुटवलको हितलाई सर्वोपरि मानी आफ्नो क्षमता र विवेकले भ्याएसम्म निरन्तर समर्पित भई खटिइरहने प्रतिबद्धता जनाउँदछु ।’

 

नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उदेश्यका साथ चरणबद्ध रुपमा बुटवलका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

‘बुटवलका मुख्य चुनौतीका रुपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहिन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाई गरिरहेका छौं’–उहाँले भन्नुभयो ।

कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासहरुमा बुटवल १३ र १७ मा १५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै नै सञ्चालन गर्ने तयारीमा रहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताउनुभयो ।

बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भईरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताउनुभयो ।

यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ ।
यस्तैगरी, सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीहरुलाई मासिक ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तरगत १ सय ४५ जनालाई प्रतिबिरामी १७ हजार बिरामीकै बैंकखातामा उपलब्ध गराइएको र आठ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको उपलब्धिमा समेटिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले बुटवलले जसरी प्रभावकारी रुपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफुहरुले समय खर्चेको बताउनुभयो । उहाँले संघ र प्रदेश सरकारले गर्ने काममा केही समन्वय अभावका कारण केही योजनाहरु अलमलमा परेको र स्थानीय सरकारले समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राजनीतिक दल, संघसंस्था, बुटवल क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरुलगायतले बोल्दै बुटवललाई समृद्ध बनाउनका लागि आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।

(((((((((

बुटवल उपमहानगरपालिका
२०७९ जेठ ९ गतेदेखि हालसम्म हासिल भएका उपलब्धि तथा प्रयासहरु
नमस्कार ।
सर्वप्रथम बुटवल उपमहानगरपालिकामा हामीले पदभार ग्रहण गरेको एक वर्ष अवधि पूरा गरेको अवसरमा बुटवलबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

नेपाली जनताको बलिदान, त्याग र विभिन्न समयमा भएका आन्दोलनहरुको उपलब्धिस्वरुप हामी संघीय लोकतान्त्रिक गणतन्त्रसहित नयाँ शासकीय संरचनाको अभ्यासका क्रममा रहेका छौं । नेपालको संविधानले राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा रहने व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था संविधानमै उल्लेख छ । संविधानबमोजिम २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भई जेठ ९ गते कार्यप्रारम्भ गरेको एक वर्ष पुगेको छ ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अस्थिपञ्जर फेला परेको र नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको बुटवल, पाल्पाली सेनवंशीय राजाहरुको ग्रीष्मकालीन दरबार रहेको बुटवल, प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्रको रुपमा रहेको छ । यस शहरलाई नेपालकै महत्वपूर्ण शहरका रुपमा स्थापित गर्ने र प्रवद्र्धन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न चाहन्छौं ।
निर्वाचित भएदेखि नै हामी सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं । ‘बुटवल हामी सबैको र हामी सबै बुटवलको’ भन्ने भावनासहित समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेमा म यहाँहरुसमक्ष पुनः प्रतिबद्धता जनाउन चाहन्छु । सबै वडाहरुको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौं ।
बुटवललाई ‘समानता, स्वाभिमान र अवसरः बस्नलायक सहर’का रुपमा रुपान्तरण गर्ने संकल्पका साथ हामीहरु यहाँका बासिन्दा, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायीलाई साथसाथै लिएर नगरबासीको जनप्रतिनिधिसँगको पहुँचलाई सरल बनाउँदै बुटवलको उन्नति यात्रामा अघि बढिरहेका छौं ।
म यो वार्षिक समीक्षाकार्यक्रममार्फत पुनः दोहो¥याउन चाहन्छु, हामी जनताका सेवक हौं, यहीअनुरुप प्रतिबद्ध भएर समृद्ध बुटवल बनाउने अभियानको महायज्ञमा निरन्तर सेवाभावले लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु । स्थानीय निर्वाचनमा बुटवलबासीले दिनुभएको अमूल्य मत, माया, सद्भाव र प्रेमलाई आफ्नो मन मस्तिष्कमा राखेर बुटवलबासी र बुटवलको हितलाई सर्वोपरि मानी आफ्नो क्षमता र विवेकले भ्याएसम्म निरन्तर समर्पित भई खटिइरहने प्रतिबद्धता जनाउँदछु ।

उपस्थित महानुभावहरु,
हामी निर्वाचित भई २०७९ जेठ ९ गते पदस्थापन गरेपश्चात् नीति कार्यक्रम, वार्षिक बजेट पास गरी सोहीअनुसार योजना कार्यान्वयनको चरणमा रहेका छौं । यसवर्ष हामीले यसअघि बाँकी रहेका र अलमलमा परेका योजनाहरुलाई गति दिने काम गरेका छौं । यो एक वर्षमा हामीले बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उदेश्यका साथ चरणबद्ध रुपमा बुटवलका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेका छौं ।
यसले बुटवलको विकास र आगामी योजनाहरुप्रति साझा धारणा स्थापित भएको छ । यसले हामीलाई आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम, योजना निर्माण र बजेट कार्यान्वयनमा समेत सहयोग पु¥याउने छ । आगामी आर्थिक वर्षमा छलफललाई अझै बृहत बनाउँदै जनताका समस्या समाधान गर्न अगाडि बढ्ने छौं ।
बुटवललाई देशकै अगुवा नगरका रुपमा स्थापित गर्दै बुटवलबाट संघीयता कार्यान्वयनमा स्थानीय सरकारको भूमिका बलियो बनाउन र संविधानमा व्यवस्था भएका साझा तथा एकल अधिकारलाई वास्तविक रुपमै कार्यान्वयन गर्ने अवस्थाको सिर्जना गर्न देशभरका उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हामीले सम्पन्न गरेका छौं । यो कार्यक्रमपछि संघीयता कार्यान्वयनका लागि अलमलमा परेका विषयहरुका बारेमा संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं । आगामी दिनमा आवश्यक कानून निर्माण तथा साझा र एकल अधिकार कार्यान्वयनमा संघ र प्रदेशले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।
बुटवलका मुख्य चुनौतीका रुपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहिन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाई गरिरहेका छौं ।
यो एक वर्षमा हामीले सिकेका राम्रा र असल अभ्यासलाई निरन्तरता दिदै जानेछौं, स्थानीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर आगामी वर्ष अझ बढी प्रभावकारी योजनाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु पूरा गरी आगामी आर्थिक वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अगाडि बढ्नेछौं ।
जनतालाई छिटो, छरितो तथा सहज सेवा प्रदान गर्दै सुशासन कायम राखी स्थानीय सरकारका रुपमा प्रदेश र संघीय सरकारसँग सहकार्य तथा समन्वय गर्दै बुटवललाई ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ बनाउने लक्ष्यका साथ अगाडि बढेका छौं ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
चालु आर्थिक वर्षका लागि २ अर्ब ३५ करोडको अनुमानित बजेट प्रस्तुत गरिएकोमा वैशाख मसान्तसम्ममा वार्षिक बजेटको ५० दशमलव ०४ प्रतिशत बजेट खर्च भएको छ । आन्तरिक श्रोतबाट चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ आय अनुमान गरिएकोमा यही जेठ ७ गतेसम्ममा ३९ करोड ८ लाख रुपैयाँ आम्दानी भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा आन्तरिक आय वृद्धि हुने विश्वास दिलाउन चाहन्छौं । संघ र प्रदेश सरकारबाट अनुदानवापत् दिने रकममा कटौती भएका कारण केही योजनाहरु समेत कटौती गर्नुपर्ने बाध्यता र आर्थिक मन्दीका कारण आन्तरिक श्रोतबाट हुने आयमा कमी आएकोले आगामी आर्थिक वर्षमा राजस्वको दायरा अरु धेरै फराकिलो बनाउने र बुटवलभित्रका सबै पेशा, व्यवसायलाई करको दायरामा ल्याउने गरी नीति निर्माण गरिरहेको व्यहोरा म यहाँहरुमाझ जानकारी गराउन चाहन्छु ।

उपस्थित महानुभावहरु,
अब म, बुटवल उपमहानगरपालिकामा कार्य प्रारम्भ गरेको एक वर्ष अवधिमा सम्पादन भएका कार्यहरु यहाँहरुसमक्ष प्रस्तुत गर्दछु ।
उपलब्धि तथा प्रयासहरु
१.बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा निर्माणाधीन १५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउनेछ । अस्पताल सञ्चालनपछि पश्चिम बुटवलबासी र आसपासका क्षेत्रका बासिन्दाले घरदैलोमै सहज र सुलभ उपचार सेवा पाउने छन् ।
२. आधुनिक पशु बधशाला निर्माण सम्पन्न भएको छ । आधुनिक पशु बधशाला सञ्चालनका लागि यसअघि अपनाइएको प्रक्रिया विधिसम्मत नदेखिएकाले पुनः टेण्डर आह्वान गरी छिटै सञ्चालन गर्ने गरी तयारी भएको छ । बधशाला सञ्चालनपछि बुटवलमा स्वच्छ र स्वस्थकर मासु उपलब्ध गराउनुका साथै देशका मुख्य शहरहरुमा समेत बिक्रीका लागि पठाउने योजना रहेको छ ।
३. बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ । अनुमति पश्चात् ठेलाबाटै दैनिक जीवन निर्वाह गर्ने र स्वरोजगार हुने व्यक्तिहरुले न्यूनतम स्वास्थ्य र खाद्यान्नका मापदण्ड पूरा गरी ठेला सञ्चालन गर्न पाउनेछन् ।
४.बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए अन्तिम चरणमा पुगेको छ । कृषि बजार केन्द्र सञ्चालनमा आएपछि स्थानीयले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुनेछ र रोजगारी सिर्जनामा पनि बल पुग्ने छ ।
५.बुटवल उपमहानगरपालिका वडा नं.७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गामा हरियाली बसपार्क निर्माणका प्रक्रिया अगाडि बढाइएको छ । स्तरीय बसपार्क निर्माण भएपछि हालको बसपार्क नगरस्तरीय बसपार्क हुनेछ भने बसपार्कभित्र बन्ने बहुतले पार्किङ भवनले बुटवलको पार्किङको समस्या समाधान हुनेछ । बहुतले पार्किङ भवनका लागि नगर विकास कोषसँग सम्झौता भई अध्ययन भईरहेको छ ।
६. नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ ।
७. मोतीपूर औद्यौगिक क्षेत्रको जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच भईसकेको छ ।
८. बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई–रिक्सा सञ्चालनमा रोक लगाउँदै इजाजत प्राप्त भएका ई–रिक्सा नियमन तथा व्यवस्थापन गरिएको छ ।
९.लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
१०. सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई हाटबजारभित्र व्यवस्थापन गरिएको छ ।
११. बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने कार्य भएको छ । ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गरिदै छ ।
१२.तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको छ ।
१३.सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको छ ।
१४.आम्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सञ्चालन, फार्मेसी ल्याब र थेरापी अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन, बुटवल १५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक पूर्वाधार र अनुमति प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको छ ।
१५. बुटवल ७ शिवनगर वनको क्षेत्रमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी व्यवस्थापन गर्ने पक्षसँग सहमति भएको छ ।
१६. बुटवलको कालिकापथ, ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
१७. चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय ९० जना बिरामीहरुलाई मासिक रु. ५ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तरगत १ सय ४५ जनालाई प्रतिबिरामी रु. १७ हजार बिरामीकै बैंकखातामा उपलब्ध गराइएको छ भने आठ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको छ ।
१८. पन्ध्रदेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरबासीलाई निजी अस्पतालमा समेत उपचार गर्दा रगतवापत् कुनैपनि शुल्क नलिने व्यवस्था मिलाइएको छ ।
१९.रोजगारदाता र रोजगार व्यक्तिबीच समन्वयको काम गर्ने र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम शाखा स्थापना गरी सहज रुपमा रोजगार प्राप्तिको लागि समन्वय गरिएको छ ।
२०. गाईभैसी, बाख्रा, बंगुर, कुखुरापालन तालिम, पशुआहारा, घाँसको बीऊबिजन, महामारी रोग, पीपीआर, भ्यागुते, चर्चरे र खोरेतलगायतमा २५ हजार ३ सय ४८ ले सेवा तथा लाभ लिएका छन् भने २५ जना व्यवसायिक कृषकलाई अनुदान दिइएको छ । २ सय ५९ वटा जनावरको पशुबीमाका लागि सिफारिश गरिएको छ । सामुदायिक भुस्याहा कुकुरहरुको संख्या नियन्त्रण गर्न ८२ वटा कुकुरहरुको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ ।
२१. राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको छ ।
२२. उज्यालो बुटवल अभियान अन्तरगत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती हाइमास्ट लाईट जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको छ । नगरका मुख्य चोकहरुमा उपमहानगरपालिकाको १ करोड र नेपाल विद्युत प्राधिकरण समेतको लागत साझेदारी सहित रु.१ करोड ६० लाख बरावरका १६ वटा हाइमास्ट लाइट जडान गर्ने तयारी भईरहेको छ । बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
२३. पूर्वपश्चिम राजमार्गस्थित तिनाउ पुललाई विस्थापित गरी पर्यटकीय पार्कसहितको सिग्नेचर ब्रिज निर्माणका लागि विश्व बैंकसँग छलफल र वार्ता गरि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
२४.बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने कार्य अघि बढेको छ र नेपाल खानेपानी संस्थान बुटवलले यसैवर्ष टेण्डर गर्ने गरी लिखित प्रतिबद्धता प्राप्त भइ प्रक्रिया अगाडि बढेको छ । झुम्सा खानेपानी आयोजना यसै वर्ष सम्पन्न गराउने प्रयास जारी भईरहेको छ ।
२५. बुटवल–११ मा वीपी–पुष्पलाल–सूर्यप्रसाद प्रधान पार्क निर्माणको लागि डीपीआर तयार भई वाउण्ड्रीवाल निर्माणका लागि ठेक्का भैसकेको छ । वडा नंं ११, बुद्धनगर पुलदेखि झोलुंगे पुलसम्म वैकल्पिक सडकको नाली फुटपाथ सहित पक्की सडक निर्माण कार्यका लागि ठेक्का भई निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नं.१२ ट्रान्सपोर्ट भिलेज पहुँच मार्गहरुमा नाली सहित पिच निर्माण कार्यको ठेक्का भई निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरभित्रको थप ७ किलोमिटर सडक मर्मत गरिएको छ भने ४ किलोमिटर सडक मर्मत गर्ने प्रक्रियामा रहेको छ ।
२६. हालसम्म विपद् तथा साना पूर्वाधार बाहेकका ६ सय ७६ वटा योजनाहरुको सम्झौता भई कार्यान्वयन भईरहेको छ । हाल सम्म ४ सय ३५ योजनाहरु सम्पन्न भई जाँचपास फरफारक भएका छन् ।
२७. संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि नगरका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति र क्षमतावृद्धिका लागि १० करोड रुपैयाँको प्रस्ताव पेश गरिएको छ ।
२८. विद्यालय तथा क्याम्पसमा शैक्षिक तथा भौतिक पूर्वाधार निर्माण, मर्मत तथा सम्भार कार्यका लागि सहकार्य गरिएको छ । बिटिआई, बुटवल बहुमुखी क्याम्पस, नवरत्न मावि, नरैनापुर आधारभूत विद्यालय, तल्लो सिद्धबाबा गुरुकुल, जामिया गुलसन मदरसा, उजिरसिंह मावि, अटोभिलेज बुटवल, सिद्धार्थ गौतमवुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पसलगायतको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग गरिएको छ ।
२९. विपन्न परिवारका विद्यार्थीहरुका लागि पोशाक खरिद गर्न, खेलकुद सामग्री खरिद गर्न, विद्यालय भवन रंगरोगन गर्नका लागि विद्यालयहरुलाई आवश्यक रकम उपलब्ध गराइएको छ ।
३०. कोभिड १९ विरुद्ध खोप लगाएका नागरिकहरुलाई वैदेशिक प्रयोजनका लागि आवश्यक पर्ने क्युआर कोड उपलब्ध गराउने काम सहज र सरल बनाइएको छ ।
३१. कृषि उत्पादनमा आधारित तरकारी, मसला, फलफुलबालीमा प्रोत्साहन अनुदान कार्यक्रमअन्तरगत ४० जना, मागमा आधारित प्रोत्साहन कार्यक्रमअन्तरगत ४७ जना, कौशी तथा करेशाबारी खेती प्रोत्साहन अन्तरगत १ हजार ९८ जना, ३ सय ४० जनालाई धान गहुँको बीउ वितरण गरिएको छ । मोतीपूर क्षेत्रमा मकैबाली पकेटक्षेत्र स्थापना गरी ३२ जना किसानलाई मकै उत्पादनमा सहभागी गराईएको छ ।
३२. घटना दर्ता शिविर, घरदैलोमै पुगेर ८ सय १७ जनालाई अपाङ्गता परिचय पत्र वितरण, ह्वीलचेयर वितरण, सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउन बैंक अनुगमनजस्ता कार्यलाई प्रभावकारी बनाइएको छ ।
३३.बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रुपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।
३४.चालू आर्थिक वर्षका लागि सम्पत्ति र घरबहाल, इरिक्सा, हाटबजार बैठकी, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ । साथै, राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ ।
३५.ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा लाग्ने घटाइएको कर छुट कार्यान्वयन गरिएको छ ।
३६.बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत् रु. २ हजार रुपैयाँ दिने प्रक्रिया अगाडि बढाइएको छ ।
३७. प्रशासनिक खर्च कटौती गर्दै प्रमुख, उपप्रमुखको सचिवालयको खर्च कटौती गरी मितव्ययिता अपनाइएको छ ।
३८. विभिन्न प्रकृतिका ७५ वटा खाद्यान्न बिक्री पसल, ३० वटा दुग्धजन्य व्यवसाय, ११ वटा मासु बिक्री पसल, २६ वटा मिष्ठान भण्डार, २४ वटा होटल तथा स्पा सेन्टर, ६ वटा फलफूल तथा तरकारी थोक बिक्री पसल, १२ स्थानमा अनुदानको मल बिक्री वितरण, ८२ वटा सहकारी अनुगमन, हाटबजारहरुको अनुगमन, नदीजन्य पर्दाथको चोरी निकासी नियन्त्रणका लागि अनुगमन गर्दै कानुन विपरीतका कार्य गर्नेलाई कारबाही र जरिवाना गरिएको छ ।
३९. मेयर युवा इलम र उपप्रमुख उद्यम विकास कार्यक्रमअन्तरगत जुत्ता बनाउने तालिम, विद्यार्थीहरुलाई सहकारी तालिम, फाईबर झोला बनाउने तालिम, बुटिक तालिम, सिलाई कटाइ तालिम, टपरी बनाउने तालिम, थाकलका सामग्री बनाउने तालिम, आलु चिप्स बनाउने तालिम, हलुका सवारी चालक र अटोमेकानिक्स तालिम दिदै आत्मनिर्भर र स्वरोजगार बन्नका लागि प्रोत्साहन गरिएको छ । जसका लागि ८१ जना भन्दा बढीलाई आवश्यक सिलाई मेसिन, आरन र अन्य उपकरणहरु उपलब्ध गराइएको छ ।
४०. न्यायिक समितिमा ७२ वटा उजुरी दर्ता भएकोमा ५८ वटा इजलास र ६२ वटा मेलमिलाप छलफल सत्र सञ्चालन गरी ४७ वटा उजुरी फछ्र्योट गरिएको छ ।
४१. नयाँ बसपार्कमा फ्री वाईफाईको व्यवस्था, निशुल्क शौचालयको व्यवस्था गरिएको छ भने छिटै नै व्यवस्थित विश्रामस्थल, स्नानगृह र सुविधासम्पन्न क्यान्टिन सञ्चालनका लागि ठेक्का सम्झौता भएको छ ।
४२. बुटवल क्षेत्रभित्रका भूमिहिन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गरी भूमि आयोगमा पठाइएको छ भने लालपूर्जाविहिन जग्गा यकिन गर्नका लागि डीजीपीएस सर्भेको काम सञ्चालन गरिएको छ ।
४३. वडा नम्बर १३ जबईमा उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्ने र रंगशाला निर्माण गर्ने काम अगाडि बढाइएको छ ।
४४. बुटवलका मुख्य चोक, चौराहा, सडकपेटी र सार्वजनिक स्थलहरुमा अव्यवस्थित रुपमा व्यवसाय गर्ने, सडक क्षेत्रमा मदिरा बिक्री गर्ने, अव्यवस्थित पार्किङ गर्ने, नदीजन्य पदार्थको चोरीनिकासी गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही र जरिवाना गराउन तथा असहाय, अलपत्र परेका बेसहाराहरुलाई उद्धार तथा उपचारका लागि अस्पताल पु¥याउनका लागि नगर प्रहरीलाई २४सै घण्टा सक्रिय बनाइएको छ ।
४५. यसक्षेत्रका लायन्स, जेसिज, रोटरी जस्ता क्लब, सामाजिक तथा स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा मधुमेह, उच्च रक्तचाप, मोतियाविन्दुको शल्यक्रिया तथा उपचार सेवालाई घरदैलोमा पु¥याउने कार्य गरिएको छ । जसबाट २२ हजारभन्दा बढीले सेवा लिएका छन् ।
४६. वडास्तरबाट नालीनिर्माण, सडक निर्माण, सडक मर्मत, पर्खाल निर्माण, नाली सरसफाई, खोला सरसफाई, वडाको सौन्दर्यीकरण, फुटपाथ व्यवस्थापन र वडाभित्र नियमित रुपमा अनुगमन गर्ने कार्य वडाअध्यक्षको नेतृत्वमा सञ्चालन गरिएको छ ।
४७. स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रहरुलाई समेट्दै विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
४८. रुपन्देही फुटबल संघ, लनटेनिस संघ, क्रिकेट क्लब, लाफा समूहलगायतका खेल क्षेत्रका संस्थाहरुसँगको सहकार्यमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, मेयरकप लन टेनिस, मेयरकप क्रिकेट, मेयरकप तेक्वान्दो प्रतियोगिता, उजिरसिंह रनिङ शिल्ड क्रिकेट प्रतियोगिता, जि.पी कोइराला महिला भलिबल प्रतियोगिता, थकाली तथा छन्त्याल तारा खेल प्रतियोगिता, उपमेयर फुटसल प्रतियोगिता, उपमेयर भलिबल, उपमेयर क्रिकेट, मनमोहन स्मृति फुटबल प्रतियोगिता, कराते प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, सयपत्री गोल्ड कप प्रतियोगिता लगायतका खेल प्रतियोगिता आयोजना गरी खेलाडी उत्पादन तथा प्रोत्साहन गरिएको छ । नेपाली क्रिकेटमा योगदान पु¥याउने राष्ट्रिय खेलाडी तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने बुटवलका खेलाडीहरुलाई सम्मान गरिएको छ । खुला व्यायामशाला निर्माण, व्याडमिन्टन कभर्ड हल निर्माण, खेलमैदानहरुको स्तरोन्नति गरिएको छ ।
४९. नगरसभाबाट पशु बधशाला सञ्चालन ऐन २०७९, बुटवल उपमहानगरपालिकाको जलश्रोत नीति २०७९, कार्यपालिका बैठकबाट एचआइभी एड्ससम्बन्धि कार्यक्रम व्यवस्थापनसम्बन्धि कार्यविधि २०७९, गृहणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९, गौशाला व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९, जलश्रोत उपयोग सम्बन्धि कार्यविधि २०७९, ठेला व्यवसायलाई व्यवस्थित गर्ने सम्बन्धि कार्यविधि २०७९ पारित गरिएको छ । यस्तै नगरप्रमुख स्वास्थ्य शिशु कार्यक्रम निर्देशिका २०७९, श्रमबैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ जारी गरिएको छ ।

अन्त्यमा, हामीले निर्वाचनको समयमा जुन विश्वासका साथ मत मागेका थियौं, त्यो हाम्रो मानसपटलमा जस्ताको तस्तै रहेको छ । सबै बुटवलबासीको अगाध स्नेह र मायाबाट निर्वाचित हुने अवसर इतिहासको एउटा कालखण्डमा हामीले पायौं । यो अवसरलाई जीवनकै सबैभन्दा महत्वपूर्ण क्षणका रुपमा लिएर सम्पूर्ण बुटवलबासीले गौरव गर्न सक्ने गरी हामीले काम गर्ने प्रयास गर्नेछौं । यसका लागि सबै जनप्रतिनिधि साथीहरुसँग, राजनीतिक दलका साथीहरुसँग, सबै संघसंस्थाहरु, सबै सरकारी कार्यालयहरु, सबै नागरिक समाजसँग सहमति, सहकार्य र एकताका साथ विभिन्न चरणमा आवश्यक परेका विषयमा छलफल गरेर, सरसल्लाह लिएर जनताको सेवकका रुपमा अगाडि बढ्नेछौं ।
साथै, सम्पूर्ण बुटवलबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको सधै सकारात्मक र सिर्जनात्मक सल्लाह, सुझावको अपेक्षा गर्दछौं ।

धन्यवाद
जय नेपाल
२०८० जेठ ९ मंगलबार

खेलराज पाण्डेय
प्रमुख
बुटवल उपमहानगरपालिका

 
 
  
 

You may also like