आज विविध कार्यक्रमसहित ३० औं मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । नेकपा (एमाले)ले आज (बुधबार) जननेता मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस मनाउँदैछ । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते अर्थात आजकै दिन चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ । एमालेले आज बिहान ७ः४५ बजे मदन नगर, बल्खुमा मदन–आश्रित स्मृति कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणा गरेको गरेको छ । रहस्यमय जीप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको छानबिन नभएको भन्दै पटक पटक आलोचना हुँदै आएको छ ।

जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा जीवित रहेका थिए । पछि २०६० सालमा लामाको हत्या भएको थियो । लामाको हत्या भएपछि घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् ।

 
 
  
 

You may also like