७० पिन्ट रगत संकलन सहित जानकीनगरमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । स्वस्थ रगत सबैका लागि भन्ने उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र ग्लाेबल ओरियन्स नेपाल जानकीनगरको संयुक्त आयोजनामा तिलोत्तमा ३ जानकीनगरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

७० जनाले रक्तदान गरेको कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका अध्यक्ष गाेविन्द भुसालको अध्यक्षता, तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष कल्याण पाैडेलको प्रमुख आतिथ्यता रहेकाे थियाे । उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाका सल्लाहकार तथा नेपाल रेडक्रस सोसाइटी मणिग्राम उप-शाखाका सभापति टेकबहादुर थापा, ग्लाेबल ओरियन्स नेपाल जानकीनगरका इन्चार्ज दिपक शाह लगायतले बाेल्दै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लाग्नुपर्नेमा जाेड दिनुभएको थियाे ।

काठमाडौं बालाजुमा केन्द्रीय कार्यालय रहेकाे ग्लाेबल ओरियन्स नेपालकाे देशभर २५ वटा शाखा रहेको छ । सामाजिक गतिविधिमा समेत सक्रिय रहने उद्वेश्यले रक्तदान कार्यक्रम गर्न रक्तदाता समाजसँग जाेडिएकाे इन्चार्ज दिपक शाहले बताए । तिलाेत्तमाकाे जानकीनगरमा रहेको शाखाले स्वास्थ्य, समृद्धि र खुशीका लागि स्वास्थ्य सामग्रीहरु बजारमा लिएर आएकाे इन्चार्ज शाहले बताए । धेरैजसो प्रथम पटक रक्तदान गरिरहेका रक्तदाता र २५ जना भन्दा बढी महिलाले रक्तदान गरेको उक्त कार्यक्रम रक्त सञ्चार सेवा इकाई भैरहवाको प्राविधिक सहयोग र तिलोत्तमा शाखाका आजीवन सदस्य विष्णु भण्डारीकाे संयाेजनमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष कल्याण पाैडेलले बिरामीलाई आवश्यक रगत स्वयंसेवी रक्तदाताले दिँदै आएकाे र रगतमा लाग्ने व्यवस्थापन शुल्क स्थानीय सरकारले व्यहाेर्ने कार्यकाे थालनी भइसकेको जिकिर गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । तिलाेत्तमा शाखाका सल्लाहकार टेकबहादुर थापाले विभिन्न जिल्लाबाट ग्लाेबल ओरियन्स नेपालमा आवद्ध रहेका प्रशिक्षार्थीहरुकाे सहभागीताले नेपाल स्वयंसेवी रक्तदाता समाजकाे पहुँच थप अन्य जिल्लामा पुर्‍याउन मद्दत पुग्ने बताउनुभयो ।

तिलाेत्तमा शाखा स्थापनाकाे २५ महिनामा याे २५ ओैँ मासिक रक्तदानकाे श्रृङ्खला सम्पन्न गरेकाे शाखाका उपाध्यक्ष अञ्जु पाैडेलले बताइन् । कार्यक्रम तिलोत्तमा शाखाका वरिष्ठ उपाध्यक्ष पुर्णचन्द्र सुवेदीको स्वागत तथा महासचिव सागर पाठकको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

 
 
  
 

You may also like