केही बिराएको छैन, विरोधदेखि डराउँदिनँ : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणाले संसदमा आफ्नो नाम जोडिएर विभिन्न प्रश्नहरू उठेकोमा आपत्ति जनाउँदै आफूले कुनै गल्ती नगरेको दावी गरेकी छन् । उनले आफूले केही नबिराएको दाबी गर्दै विरोध गर्दैमा नडराउने समेत बताइन् ।

प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा सांसद राणाले तथ्यमा आधारित भएर कुरा गर्नुपर्ने भन्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी छन् । उनले कसको कति सम्पत्ति बढ्यो ? कति घट्यो ? छानविन गर्न माग समेत गरिन् ।

‘भ्रष्टाचारको कुरामा हामी साँच्चीकै कति सिरियस छौँ भन्ने मेरो प्रश्न छ । यहाँ म नभएको दिनमा मलाई इङ्गित गरेर अनेक प्रश्नहरू उठेका छन् । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन रहेछ । अझै पनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नु पर्ने, उनीहरुले भनेको मात्रै बोल्नु पर्ने, अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहृय हुने परिस्थिति बनेको छ’, उनले अघि भनिन्, ‘यस्तो नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा समेत छ । हामीले संविधानमार्फत यो कुराको विरुद्धमा लेखेका छौँ । त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’

उनले तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न आग्रह गरिन् । ‘हामीले पटक–पटक सम्पत्ति विवरण बुझाउँछौँ, मेरो श्रीमान पाँच–छ पटक प्रधानमन्त्री हुनुभयो, मेरो लगायत मेरो श्रीमानको सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहन्छु, हामी जत्ति जना सांसद छौँ, सबैको सम्पत्ति विवरण वेभसाइटमा राखियोस्, सार्वजनिक गरियोस् ।’

सांसद्ले भारतमा न्यायलयका कर्मचारीले हरेक महिना खर्चको विवरण सार्वजनिक गर्ने गरेको भन्दै नेपालमा पनि त्यस्तै कानून ल्याउन सक्नुपर्ने बताइन् । ‘भारतमा हरेक महिना न्यायालयका कर्मचारीले आफ्नो सबै हिसाब बिल सार्वजनिक गर्नुपर्छ । के हामी त्यस्तै कानून यहाँ ल्याउन सक्छौँ ?’, उनले प्रश्न गरिन् ।

 
 
  
 

You may also like