लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन आठ दलले हस्ताक्षर बुझाउँदै

लुम्बिनी प्रदेशमा गठबन्धनले आज (बिहीबार) सरकारको दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न दिउँसो सवा १ बजे दाबी पेस गरिने भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए । प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा आज १ बजे तोकेकै समयमा दाबी पेस गर्ने चौधरीको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८÷९२० अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख शेरचन समक्ष निवेदन दिएका थिए । आज पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेस गर्न लागिएको चौधरीको सचिवालयले जनाएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद छन् ।

 
 
  
 

You may also like