युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा जितगढी उत्सव मनाइदै

बुटवल ।जितगढीमा नेपाल अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइदैछ ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउदै आएको छ ।

बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदल यात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

उहाँले बिहान १० बजे पैदलयात्री टोलीलाई स्वागत गर्ने र यात्राको समापन गर्ने कार्यक्रम रहेको र दिउसो १२ः३० बजे जितगढी किल्लामा मुल समारोहको कार्यक्रम रहेको बताउनुभयो । कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य विष्णु प्रसाद पौडेलसहित यस क्षेत्रका जनप्रतिनिधिलगायतको उपस्थिति रहने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । उहाँका अनुसार जितगढी उत्सवका लागि सबै तयारी पूरा भएको छ ।

नेपाल–अंग्रेज युद्धको पृष्ठभूमि र किल्लाको जानकारी
२१ पुस १८७१ देखि १८७२ सम्म नेपालअंग्रेजका बीचमा युद्ध भए । अमरसिंह थापा, बलभ कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन । कुमाउगडवाल (नाहान), मकवानपुरगढी, कोशीटिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भयो । तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पाबुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो ।

पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल ग¥यो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ । जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ ।
भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पुजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ । नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जय जयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइन्छ । दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ । रथलाई तीन पटक घुमाएर कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ । रथलाई मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा दिने चलन छ ।

यस्तो छ गढी

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २ सय ५ फिट छ र चौडाई करिब ५५ फिट रहेको छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाई ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ ।

करीव बाह्र लाखदेखि पन् लाख ईटा प्रयोग भएका र ईटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईटाहरुको लम्बाई चौडाई क्रमशः ८.६ इन्च, ६ इन्च वाई २ इन्च रहेको छ । गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्ध गर्नको सुविधाको लागि विभिन्न किसिमका चरहरुको निर्माण गरिएको छ ।
पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । तिनाउ नदीको दायाँ किनारमा अवस्थित गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले जितगढी भनिएको जनश्रुति रहेको छ ।

वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघि देखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन ।
आर्थिक वर्ष २०६९÷०७० र ०७०÷०७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो । उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिएपनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन् । यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो ।

 
 
  
 

You may also like