लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु

by समतल अनलाइन

रुपन्देही । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ ।

प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै हुने गरेकाले यस पछाडिको कारण खोतलेर आम जनमानसमा सही सूचना पु¥याउन साहित्यकारहरुले कलम चलाउनुपर्ने धारणा राखे ।

मन्त्री गिरीले सरकारका राम्रा कामको चर्चा गरी कमीकमजोरी भएका ठाउँमा सही ढङ्गले सुझाव दिन आग्रह गरे । प्रदेशमा पर्यटनको पूर्वाधार तयार गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष मनाउन शुरु गरेको बताउँदै उनले प्रचारका हिसाबले लुम्बिनीसँग जोडिएका सबै क्षेत्रमा पुगेर कार्यक्रमहरु आयोजना गरिएको बताए । “लुम्बिनी र योसँग जोडिएका सबै क्षेत्रलाई विश्वसामु पस्कन नसके पनि प्रचारको थालनी गरेका छौँ, यसको परिणाम राम्रो आउनेछ”, उनले भने ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले गौतमबुद्धका वाणीहरुमा कथा, कविता र साहित्य भएकाले बौद्ध साहित्यमा कलम चलाउन साहित्यकारहरुलाई आग्रह गरे । उनले गौतमबुद्ध दर्शनका प्रणेतामात्र नभई साहित्यकारसमेत भएकाले यो विषयलाई बाहिर ल्याउन जरुरी रहेको बताए ।

प्रदेशसभा सदस्य फकरुद्धिन खानले साहित्यलाई लुम्बिनीको पर्यटनसँग जोडेर विकास गर्न जरुरी रहेको बताए । उनले लुम्बिनी आउने पर्यटकलाई यहाँको कला संस्कृति देखाउन सक्ने ठाउँ बनाउन आवश्यक रहेकाले प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले भाषा, कला र साहित्यको जगेर्नाका लागि यस्ता गोष्ठीहरु महत्वपूर्ण हुने बताए । गोष्ठीका संयोजक प्राध्यापक डा गीतु गिरीले भाषा, साहित्य र कला राष्ट्रको ढुकढुकी भएकाले यसलाई विकाससँग जोडेर लैजान जरुरी रहेको बताईन । साहित्य हरेक क्षेत्रसँग जोडिएको हुँदा यसको संरक्षण र विकासमा प्रदेश सरकारले तदारुकता देखाउनुपर्ने बताईन ।

मन्त्रालयका सचिव डा राधा वाग्लेले साहित्यप्रति धेरैको अभिरुचि हुने भएकाले यसको मार्फत समाजमा सही जानकारी दिन सकिने बताईन । प्रदेश वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले प्रदेशमा तत्काल प्रज्ञा–प्रतिष्ठान गठन गर्न माग गरे ।

गोष्ठीमा ‘बौद्ध दर्शन र साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले बौद्ध सङ्गायन, बौद्ध शैक्षिक प्रतिष्ठानहरु, धर्म र सङ्घमार्फत भिक्षुभिक्षुणी, बौद्ध विद्वानहरुले बौद्ध दर्शन र साहित्यको विकासमा योगदान पु¥याएको चर्चा गरे । कार्यपत्रमाथि संस्कृतिविद् राजेन्द्र आचार्य, दिन पन्थी, हरि तिमिल्सिना र दामु मर्सिफुलले टिप्पणी गरेका थिए ।

‘पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवालीले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, लोकपरम्परा झल्कने खालको साहित्य सृजना गर्न सकिए पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

कार्यपत्रमा प्रा डा कपिलदेव लामिछाने, बनमाली निराकार, शारदा पौडेल र विजय सागरले टिप्पणी गरेका थिए । गोष्ठीमा साहित्यकार टङ्कनाथ ज्ञवालीद्वारा लिखित ‘मेरो देश’ नामक कविता सङ्ग्रह मन्त्री गिरीले विमोचन गरे । दुईदिने गोष्ठीमा नेपालसहित सिक्किमका चर्चित नेपाली भाषी साहित्यकारहरुले आ–आफ्ना सृजना वाचन गर्ने कार्यक्रम छ ।

गोष्ठीमा साहित्यकारहरु दाङका कमल देवकोटा, प्यूठानका गेहराज थापा, बर्दियाका मणि पन्थी, बाँकेका महानन्द ढकाल, रोल्पाका कविता उपाध्याय, अर्घाखाँचीका डा लक्ष्मी कोपिला र हिम लेकाली, गुल्मीका गोपाल पन्थी, पाल्पाका कृष्णकला भण्डारी र लक्ष्मी ज्ञवाली, नवलपरासीका डा श्याम न्यौपाने र प्रा होमकान्त पाण्डे, रुपन्देहीका विजय सागर, वनमाली निराकार, हिमलाल ज्ञवाली, राजेन्द्र आचार्य, ऋषि आजाद, कपिलवस्तुका राजेन्द्र श्रीवास्तवसहित सिक्किमका साहित्यकार जीविका अश्रु र श्यामानन्द सिंह लगायतका साहित्यकारहरुले आ–आफ्ना सृजना वाचन गर्ने कार्यक्रम छ ।

साहित्यिक गोष्ठीको दोस्रो दिन साहित्यकारहरु कपिलवस्तुको कुदान क्षेत्रको अवलोकन गरी पूर्णिमा उत्सवमा सहभागी हुने कार्यक्रम छ । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कंदा पिता शुद्धोधनलाई पहिलो पटक भेटेको स्थान कुदान अर्थात् निग्रोधराममा मङ्गलबार साँझ पर्यटन मन्त्रालयले पूर्णिमा उत्सवको आयोजना गरेको छ ।

रासस

 
 
  
 

You may also like