पाल्पाको भुतखोलामा नयाँ वर्ष मनाउन गएका एक युवाको डुबेर मृत्यु

बुटवल।नयाँ वर्ष मनाउने क्रममा घुम्न गएका एक युवाको पाल्पाको दोभानस्थित भूतखोलामा डुबेर मृत्यु भएको छ ।

रुपन्देहीबाट गएका युुवाको पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुत खोलामा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ बेलहियाका अन्दाजी ३० वर्षीय शिभम जैसवाल रहेको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । उनी नयाँ वर्ष मनाउन शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका थिए ।

पोखरी हेर्ने क्रममा ढुंगामा चिप्लिका शिभम एक्कासी पोखरीमा खसेका थिए ।

साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएपनि त्यसअघि नै उनको मृत्यु भैसकेको अस्पतालले जानकारी दिएको थियो । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा प्रचार प्रशार तथा संरचनाहरु निर्माण गरिएको भुतखोलामा केही समयअघि रुपन्देहीबाटै घुम्न गएका अर्का एक युवाको पनि डुबेर ज्यान गएको थियो ।

 
 
  
 

You may also like